सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

लोकमानको घरमा म्याद नटाँसी फर्कियो सर्वोच्चको टोली

shambhu-khadka-sarbochchaka-karmachari

अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा अदालतमा उपस्थित हुनुपर्ने म्यादको सुचना टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी सुचना नटाँसी त्यसै फर्किएका छन् । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आउनुभएको छ ।

कार्कीलाई सुचित गर्न बुधबार सर्बोच्चका कर्मचारी कार्कीको नयाँ बानेश्वर स्थित रोहिणी मार्गमा रहेको घरमा म्याद टाँस्न गएका थिए । तामिल्दार शम्भु खड्का नेतृत्वको टोली उत्प्रेषणयुक्त परमादेशको सूचना टाँस गर्न भन्दै कार्की निवासमा गएको थियो ।

गेट बाहिर निस्किएका एक युवकले आफूहरु भाडामा बस्ने तर घरधनी यहाँ नबस्ने भनेपछि सर्वोच्चको टोली घरधनी नबसेको घरमा सूचना टाँस्न नमिल्ने भन्दै फर्किएको हो । तामिल्दार शम्भु खड्काले अब सम्बन्धित व्यक्तिलाई नै पत्र बुझाउने बताउनुभयो ।

अख्तियार प्रमुख कार्की टंगाल स्थित अख्तियार क्वाटरमै कडा सुरक्षा घेरामा बस्दै आउनुभएको छ । अख्तियार प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा २०७० वैशाख २९ गते रिट दायर गर्नुभएको थियो ।

सर्वोच्चले उक्त रिट २०७१ असोज ८ गते खारेज गरेको थियो । आफैले खारेज गरेको रिटलाई पुनरावलोकन गर्ने सर्वोच्चले फैसला गरेको हो । अधिवक्ता ओमप्रकाशले लोकमान अयोग्य भएको थप प्रमाण भेटिएको भन्दै पुनरावलोकनको निवेदन हाल्नुभएको थियो ।

त्यसपछि सर्वोच्चले दुवै पक्षलाई अदालतमा उपस्थित हुन म्यादको पत्र पठाएको थियो । रिट दायरकर्ता अधिवक्ता ओमप्रकाश अर्यालले पत्र बुझिसक्नुभएको छ भने अख्तियार प्रमुख लोकमान कार्कीले पत्र बुझ्न अस्विकार गर्नुभएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्