सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सुन व्यवसायी साजन मुखियाको अपहरणपछी हत्या

तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या गरिएको घटना सेलाउन नपाउँदै झापामा अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक सातादेखि बेपत्ता सुन व्यवसायी साजन मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भेटिएको हो ।

उनी सुन व्यवसायी संघ, झापाका सदस्य समेत हुन् । सुन व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाका अनुसार उनको शव मेची राजमार्गदेखि ५० फिट तल बोरामा प्याक गरिएको अवस्थामा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी कृष्ण कोइरालाले सुन व्यवसायी मुखियाको शव भेटिएको पुष्टि गरेका छन । शवलाई पोष्टमार्टमका लागि भद्रपुर लगिएको छ ।

पक्राउ परेकाहरुले दिएको बयानका आधारमा मुखियाको शव खोज्दै प्रहरी टोली कोल्बुङ पुगेको थियो । प्रहरी अधिकारीले भने, ‘उनको दुवै हात बाँधेको अवस्थामा शव भेटिएको थियो । घाँटीमा पनि डोरी कसेको डाम देखिन्थ्यो ।’ ९ दिनअघि बजार पुगेर आउँछु भन्दै घरबाट निस्किएका मुखिया एकाएक बेपत्ता थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्