सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

‘जेजे भयो त्यो सब दुई मिनेटभित्रै भयो’: केशव पाण्डे

यूएस बंगला विमानको फ्लाइट सेड्युल अनुसारै थियो । जहाजमा बंगलादेशको कोक्स बजारमा हुन लागेको कस्टमर सक्सेस समिटमा भाग लिन गएको हाम्रो टोलीका १० पर्यटन व्यवसायी र दुई बंगाली साथी लगायत रमाइलो गर्दै आइरहेका थियौं ।

न्युरोसर्जन डा. बालकृष्ण थापा र बंगलादेशमा डाक्टरीे पढाइ सकेर फर्किन लागेका विद्यार्थीको टोली पनि थियो । अरू पर्यटक पनि थिए । काठमाडौं उपत्यका छिरेपछि अवतरणका क्रममा जहाजले जुन रुट लिनुपर्ने हो, त्यो लिएन  । कोटेश्वर आइसकेपछि दाहिने पट्टिबाट बढी च्यापेपछि जहाजले एयरपोर्ट ‘मिस’ गर्यो ।

सोच्यौं, टावरसँगको कम्युनिकेसनमै त्यसो गरेको होला । एयर ट्राफिकको समस्या हो कि भन्ने पनि लाग्यो । त्यसअघि पनि जहाज बूढानीलकण्ठ र बौद्ध वरिपरिका डाँडाकाँडा घुम्दै घर र रूख नै छोयोछोयो कि जसरी उडिरहेको थियो  । सबै यात्रुमा त्रास छाइसकेको थियो ।

जीवन खतरामा पर्यो भन्ने सोचिसकेका थियौं । तर, कसोकसो पाइलटले जहाज ‘टर्निङ’ गर्दै एयरपोर्टतर्फ लगेपछि बाँचिन्छ कि भन्ने आस पलायो । तर, जहाज एक्कासि भुइँमा बज्रियो । धावनमार्गमा पुग्नै पाएन  । त्यसपछि के भयो मलाई याद छैन ।

जब थाहा पाएँ, म चौरमा घिस्रिइरहेको थिएँ । जहाजभरि आगो सल्किसकेछ । पेट्रोलको फोहरा र धूवाँको मुस्लो छुटिरहेको थियो । अब जहाज पड्किन्छ र आगो आफूसम्म आइपुग्छ भनेर म आत्तिएँ । पछाडि फर्केर हेर्नै सकिनँ । छिटोभन्दा छिटो भाग्न खोजेँ तर खुट्टाले भरै दिएन । केही छिनमै सेनाका जवान आएर मेरो उद्धार गरे ।

मलाई केएमसी पुर्याइयो । त्यहाँको अवस्था लथालिंग थियो । त्यसैले आफन्तले नख्खुस्थित मेडिसिटी अस्पताल ल्याए । अहिले यहीँ उपचाररत छु  । दाहिने घुँडाभन्दा तल फ्याक्चर भएको छ । दाहिनेतिरका दुई करङमा समस्या देखिएको छ । आँखामा थोरै इन्फेक्सन छ ।

दुर्घटनास्थलमा छँदा मलाई बाँच्छु भन्ने लागेकै थिएन । आफू जोगिए पनि पर्यटन व्यवसायी, डाक्टर भाइबहिनी र थुप्रै पर्यटकको मृत्यु भएकोमा दुःख लागेको छ । विमान किन दुर्घटनाग्रस्त भयो त्यो पछि थाहा होला । तर, पाइलटकै गल्तीले गलत ल्यान्डिङ भएको हो कि जस्तो लाग्छ ।

टेक्निकल कुरा भएकाले ठोकुवा नै गर्न चाहिँ सक्दिनँ । अवतरणका लागि फर्काएर ल्याउँदा दोस्रो पटकमा पनि सही ठाउँमा ल्यान्ड गर्न सकेन । जेजे भयो त्यो सब दुई मिनेटभित्रै भयो ।

(सोमबार दुर्घटना भएको युएस बंगलाको बिमानमा सवार घाईते यात्रु केशव पाण्डेसँग कान्तिपुरका लागि विमल खतिवडाले गरेको कुराकानी ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्