सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रचण्डले बालुवाटारमा किन भने शक्तिकेन्द्रमा भुकम्प गयो ?

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पाएको विश्वासको मत र राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय एकता अँझ मजबुत भएको बताएका छन् । दाहालले हिमाल, पहाड र मधेसको बलियो एकता कायम गर्दै अब राष्ट्रिय एकता सुदृढ गर्ने क्रम आरम्भ भएको बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्र एकढिक्का हुँदै गएको बताएका हुन । उनले मञ्चमै रहेका महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवको नाम लिँदै दुई तिहाई बहुमत देशको सम्मृद्धि र राष्ट्रिय एकताको लागि भएको बताएका थिए ।

प्रचण्डले भने ‘प्रधानमन्त्रीले पाएको विश्वासको मत वा राष्ट्रपति चुनावमा जसरी दुई तिहाई भन्दा बढी मत आएको छ, हाम्रो गठबन्धन अँझ राष्ट्रिय एकता बलियो बनाउन चाहान्छ । यतिनै बेला अर्को पक्ष यो प्रक्रिया अवरुद्ध गर्न चाहन्छ, त्यसप्रति हामी सचेत हुनुपर्छ । हाम्रो दुई तिहाई सामाजिक न्याय, राष्ट्रिय एकता र सम्मृद्धिको लागि हो ।’

प्रचण्डले परिवर्तनकारी शक्तिहरु एकजुट हुँदा केही शक्तिको स्वर्गमा भूकम्प गएको टिप्पणी गरेका छन । अहिलेको गठबन्धनमा अन्तरविरोध सिर्जना गर्न नियोजित रुपमा गलत प्रचार भइरहेको उनले बताएका छन । १० वर्षअघि एउटा सन्दर्भमा आफूले बोलेका कुराहरुलाई अहिले सामाजिक सन्जालमा भाइरल बनाईएको प्रचण्डले बताएका छन ।

प्रचण्डले अहिले नियोजित रुपमा विभिन्न घटनाहरु गराउन थालिएको भन्दै त्यसप्रति गम्भीर बन्नुपर्ने बताएका छन । प्रचण्डले भने–‘जनप्रतिनिधिमाथि हमला शुरु भएको छ, कैलालीमा । भैरहवामा एकजना व्यवसायीमाथि फेरि हमला भयो । ठाउँ ठाउँमा जनप्रतिनिधिमाथि हमला गर्ने योजनाको कुरा हामीले सुनेका छौं । जनताका प्रनिनिधिले जनताको पक्षमा काम गर्न लाग्दै गर्दा श्रृंखलाबद्ध हमलाको योजना हुनु गम्भीर कुरा हो ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्