सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारतीय कलेजका कारण नेपालीले गरे आत्महत्या

मंगलबार भारतको हरियाणामा सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । हरियाणाको सोनिपतमा रहेको एसआरएम ग्लोबल कलेजमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्यनरत महोत्तरी औरही २ का सहाबुल अन्सारीले आत्महत्या गरेका हुन् ।

सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले सहाबुलको मृत्युमा कलेज नै दोषी रहेको आरोप लगाएका छन् । विलम्ब शुल्कको बहानामा सहाबुलसँग ३५ हजार रुपैयाँ भन्दा बढी रकम कलेजले माग गर्दै यातना दिए पछि उनले आत्महत्या गरेको सोही कलेजका विद्यार्थी दिपेश साहले बताएका छन ।

सहकर्मीको मृत्यु पछि विद्यार्थीहरुले कलेजमा प्रदर्शन समेत गरेका छन् । विद्यार्थीको प्रदर्शनमा कलेज तथा प्रहरीले हस्तक्षेप गरी कुटपीट गर्दा केही विद्यार्थी घाइते भएको बताईएको छ । घटनाका सम्बन्धमा त्यहाँका प्रहरी अधिकारी तथा कलेज प्रशासनले समेत कुनै चासो नदेखाएको उनले बताएका छन् ।

विद्यार्थीहरुले प्रदर्शनका क्रममा स्टेट हाइवे १ बन्द गराएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अंसारीले कलेज प्रशासनको यातनाका कारण आत्महत्या गरेको भन्दै विद्यार्थीहरुले घटनाको छानबिन तथा दोषीलाई कारवाही गर्न नेपाल सरकारले समेत पहल गर्नुपर्ने माग गरेका छन् ।

सो कलेजले नेपालका विद्यार्थीहरुलाई विभिन्न प्रलोभन तथा आश्वासन दिएर भारत लैजाने र त्यहाँ पुगेपछि विभिन्न बहानामा चर्को शुल्क लिने गरेको विद्यार्थीहरुले बताएका छन् ।

कलेजको होस्टेलमा रहेका नेपाली विद्यार्थीहरुलाई गुणस्तरहीन खाना खुवाउने, बाहिर निस्कन नदिने, बिदा लिदासमेत गयल बापतको जरिवाना शुल्क, विलम्ब शुल्क लगायत धेरै शीर्षकमा रकम असुलेर विद्यार्थीलाई मानसिक तनाव दिने गरेको उनीहरुको भनाइ छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्