सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आगलागीबाट ६२ परिवारको इक्राही वस्ती पुरै सखाप

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ । आगलागीबाट बस्तीका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिएका छन ।

क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि वडाध्यक्ष विष्टले बताएका छन । आगलागीबाट बस्ती पुरै सखाप भएको छ भने केही बालबालिका पनि सामान्य घाइते भएका छन् । आगोमा परेर दुईवटा चौपाया जलेर मरेका छन् ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको र आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको बताएका छन ।

बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुण यन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तन लगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपतकालीन सबै प्रकारका राहतको आवश्यकता रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्