सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौमै ‘ड्राइभर ग्याङ्ग’को बलत्कारमा किशोरी

राजधानि काठमाण्डौमा एउटा निकै भयानक र त्रासदीपुर्ण बलात्कारको घटना सार्बजनिक भएको छ । गाडीका ड्राईभर र खलासीको ग्याङ्गले बौद्धिक रुपमा अपाङ्ग १५ बर्षिया एक किशोरीमाथी सामुहिक बलात्कार गरेका छन । त्यो पनि लगातार १३ दिनसम्म । कहिले कोठामा बन्धक बनाएर, कहिले ग्यारेजमा । पालैपालो ।

निर्भया बलात्कार काण्डले दिल्ली मात्र होइन, सिंगो भारतमा बलात्कारविरुद्ध जेहाद छेडियो । भारतभर जनआक्रोश मात्र सिर्जना भएन, सरकार बलात्कार विरोधी कानुनमा संशोधन गर्न बाध्य भयो । तर, नेपालमा ‘निर्भया काण्डहरु’ थुप्रै भइरहँदा पनि न त जनआक्रोश पैदा भएको छ न सरकारले सुनेको छ ।

‘दिल्ली घटना’लाई बिर्साउने गरी काठमाडौंमै एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् । बौद्धिक अपाङ्गता भएकी किशोरीलाई ‘ड्राइभर ग्याङ’ (चालक र सहचालक) ले पटक पटक बलात्कार गरेका हुन् । झण्डै दुई साता बलात्कार गरेपछि उनीहरुले किशोरीलाई अढाइ सय रुपैयाँ हातमा राखेर छाडिदिए ।

१७ फागुन साँझ १५ वर्षीय किशोरी कीर्तिपुरस्थित घरबाट निस्किइन् । बौद्धिक अपाङ्ग उनी त्यहाँबाट बल्खु जानलाई बा २ ख ४५९५ नम्बरको गाडीमा चढिन् र पछाडिको सिटमा बसिन् ।

गाडीमा रहेका सबै यात्रु ओर्लिए तर, उनी झरिनन् । घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार सायद उनी निदाएकी थिइन् । जब गाडी ललितपुरको हरिसिद्धीमा पुग्यो, तब गाडीका चालकले पछाडिको सिटमा युवती भएको चाल पाए ।

उनीहरुले किशोरीलाई घर पुर्याउन मद्दत गर्नुको साटो गिद्देनजर लगाए । चालक र सहचालकले सामूहिक बलात्कार गरे । भोलिपल्ट पनि उनीहरुले किशोरीलाई छाडेनन् । उनलाई बसुन्धरास्थित ग्यारेजमा पुर्याएर पुनः बलात्कार गरे । १५ वर्षीया किशोरी, त्यसमाथि बौद्धिक अपाङ्गता भएकी उनीको केही लागेन ।

साँझ ड्राइभरले किशोरीलाई गोदावरीस्थित कोठामा लगे । ‘त्यहाँ ६ दिनसम्म बन्धक बनाएर राखेर बलात्कार गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘उसलाई कोठाबाट जान दिइएन । दिसा पिसाब पनि कोठाभित्रै बोटलमा गराएको देखिन्छ ।’ त्यो बोटल पनि प्रहरीले बरामद गरेको छ ।

२४ गते युवती त्यहाँबाट भागिन् । उनी आफ्नो घर पुग्न नपाउँदै भोलिपल्ट सह–चालकको फन्दामा परिन । उनले पुनः चालकको कोठामा लगे र पटकपटक बलात्कार गरे ।

किशोरी हराएको दिन पनि उनी कोहीबाट बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीसँग काउन्सिलिङ गरेर सोधपुछ गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

यो समूहले २७ फागुनमा युवतीलाई अर्को समूहको जिम्मा लगायो, त्यहाँ पनि किशोरी बलात्कृत भइन् । बा ४ ख ३८५१ नम्बरको गाडीको चालकले दिनभर किशोरीलाई गाडीमा हालेर घुमाउँछ । तर, किशोरीलाई निस्किन दिँदैन । चालक र सहचालकले साँझ स्वयम्भूस्थित एक ग्यारेजमा लगेर सामुहिक बलात्कार गरे ।

उनीहरुले किशोरीलाई गर्भ निरोधक औषधी खुवाउँछन् र अढाइ सय हातमा राखेर छाडिदिन्छन् । यो समूहले युवतीलाई स्वयम्भूमा छाड्छ र उनी २९ गते घर पुग्छिन् ।

किशोरी हराएकै दिन १७ फागुनमा परिवारका सदस्यले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए । तर, बलात्कृत भएर घरमा आएपछि अभिभावकले ३० फागुनमा अर्को जाहेरी दिए ।

सुरुमा प्रहरीले बा २ ख ४५९५ को चालक भोला तामाङ र चन्द्र सापकोटालाई पक्राउ गर्यो । सोही दिन भोला र चन्द्र कंलकीमा गाडी चलाइरहेकै बेला पक्राउ परेका हुन् ।

अर्का गाडीका चालक गड्तौला गौशालामा पक्राउ परे । सहचालक सन्तोष घिमिरे भागिसकेका रहेछन् । उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरिएको छ । घटनामा संलग्न एक जना फरार छन् ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्