सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

दशैँ अघि मेलम्ची, बाग्मतीमा र्याफ्टीङ्ग र पौडी

खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दसैैं अघि नै काठमाडौँका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । ‘कम्तीमा पनि दसैँअघि नै मेलम्चीको पानी काठमाडौँका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं’, उनले भनिन, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’

बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हक अन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएको विषय भएको बताएकी छिन ।

‘मेलम्चीको पानी काठमाडौँ ल्याउने निर्माण कार्य अवरुद्ध थियो, त्यही भएर म हिजो मात्रै मेलम्ची पुगेर आएँ’, उनले भनिन, ‘मैले आवश्यक निर्देशन दिएसँगै अहिले निर्माण कार्य पुनः सुचारु भएको छ ।’

आफूले कडा रूपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौँ भित्रिने मुख्यद्वार रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण अघि बढाउन निर्देशन समेत दिएको उनको भनाई थियो ।

साक्षात्कारमा बोल्दै उनले २५ दिनभित्रै मेलम्चीको टनेल सुन्दरीजलमा खोल्न (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थ्रु’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारेकी छिन ।

उनले भनिन्–‘असार अन्तिमसम्म सुन्दरीजलमा पानी खसाल्ने प्रतिबद्धता आएको छ, मैले त्यही स्पिरिटमा काम गर्न निर्देशन दिएको छु ।’ मन्त्री मगरले दसैँअघि नै मेलम्चीको पानीलाई स्वागत गर्न काठमाडौंबासीलाई आग्रह समेत गरेकी छिन ।

साक्षात्कारमा बोल्दै मन्त्री मगरले केही वर्षभित्र बाग्मती, विष्णुमति र धोबीखोलालाई पर्यटकीय रुपमा विकास गर्ने समेत बताएकी छिन । उनले भनिन्–‘त्यसको लागि प्राकृतिक र कृत्रिम रुपमा पनि पानीको बहाव बढाउँछौं ।’

मन्त्री मगरले कम्तिमा पनि आफ्नो कार्यकालमा बाग्मतीमा ¥याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता जनाईन् । उनले भनिन्– ‘स्वस्थ खानेपानी र सफा वातावरण नागरिकको मौलिक अधिकार हो, त्यसैले यही स्पिरिटमा म काम गर्छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्