सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चन्द्रमामा जग्गा किन्ने पहिलो नेपाली रमेश जोशी

‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक..’ काठमाडौं मखनका रमेशकुमार जोशीले महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो कवितालाई सार्थक तुल्याएका छन् । सानोमा देवकोटाको कविताबाट प्रभावित बनेर होला उनले आफ्ना सपना पुरा गरेका छन् ।

अहिले उनी चन्द्रमाको ८० रोपनी बराबर जमिनको मालिक भएका छन । भन्दा जोकसैलाई झ्वाट्टै पत्याउन गाह्रो पर्न सक्छ, तर वास्तविकतामा अहिले चन्द्रमाको जमिन किन्ने संसारमा होडबाजी नै चलिरहेको छ । त्यसका एक सदस्य भएका छन् नेपाली नागरिक जोशी, जो अहिले चन्द्रमाका समेत नागरिक भएका छन् ।

१४ जनवरी २०१८ अर्थात् २०७४ पुस ३० गतेका दिन चन्द्रमाका नागरिकताका साथै त्यहाँको “बे अफ रेन्बो” मा ‘१० एक्री’ जमिनका मालिक बनेर जग्गाधनी प्रमाण–पत्र समेत प्राप्त गरेका छन् । जोशीलाई त्यहाँसम्म पुग्न अमेरिकी नेसनल एरोनोटिक्स् एण्ड स्पेस एड्मिनिष्ट्रेशन (नासा) का नेपालका तर्फबाट सदस्य समेत रहेका उनका भाञ्जा स्वराज सागर प्रधानले सूचित गरेका थिए ।

भाञ्जाको सहयोगमा चन्द्रमामा जमिन किन्न फर्म भर्न पुगेका जोशी त्यतिबेलासम्म विदेश अध्ययन गर्न जाने नेपालीहरुका लागि स्वतन्त्र परामर्शदाता मात्रै हुन् ।

त्यस मध्ये पृथ्वीबाट प्रष्ट देख्न सकिने ‘प्राइम लोकेशन’ मा रहेको ‘बे अफ रेन्बो’ मा बेचबिखनका लागि प्रयोग गरिएको शब्द अनुसार ‘१० एक्री’ नै किन्न प्रस्ताव गरिएपछि सोही अनुरुप आफूले पनि खरीद गरेको जोशी बताउछन् । जुन नेपाली मापन अनुसार ८० रोपनी बराबर हुन आउने उनको अनुमान छ ।

‘एक एक्री’ बराबर नेपाली मुद्रा ३ हजार मात्रै मूल्य पर्ने रहेछ चन्द्रमामा जमिनको । त्यति बराबरको रकम जर्मनीमा रहेका छोरा उज्जवल कुमार जोशीले आफ्नो क्रेडिट कार्डमार्फत् बुबाको नाममा बुझाएपछि ‘दि लुना रजिष्ट्री’ मार्फत् चन्द्रमाको नागरिक साथै जमिनका मालिक समेत बनेको प्रमाण–पत्र पाएका जोशीले हाललाई आफ्नो सानो बेला देखिको सोख मात्रै पूरा भएको ठानेका छन् ।

वास्तवमा संसारभरीका ३० करोड मनिसहरुले चन्द्रमामा जमिन खरिद गरिसकेका रहेछन् । चन्द्रमाको जमिन कारोबारमा अधिकार प्राप्त ‘दि लुना रजिष्ट्री’ ले दिएको जानकारी अनुसार विश्वमा चर्चित सेलेब्रेटीहरु जोन ट्राभोल्टा, जर्ज लुकास, बार्बरा वाल्टर्स, टोम हायन्स, टम क्रुस, लगायत भारतका शाहरुख खानले समेत चन्द्रमाको जमिन किनिसकेका छन ।

आफू पनि सोही अनुरुप चन्द्रमाका नागरिक साथै जमिनका मालिक बन्न पुगेकोमा नेपाली नागरिक जोशी गौरव गर्छन् । चन्द्रमाका नागरिक साथै जमिनका मालिक समेत बन्न पुगेपछि जोशीले अब आफूले अन्तरिक्ष विज्ञानको थप अध्ययन र त्यसमार्फत् देशको नाममा गर्न सकिने योजना बनाउन थालेका छन् । त्यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानलाई पत्राचार गरिसकेको बताउछन् ।

ललितपुरको सानेपामा बसोबास गरिरहेका जोशीले चन्द्रमामा जमिन किनेको कुरा गर्दा सुरुमा साथीभाइले नपत्याएर ‘गफाडीको गफ’ ठानेका थिए । भाडामा दिन मिल्ने, बेचबिखन पनि गर्न सकिने र आफ्नो इच्छा अनुसार उत्तराधिकार प्रदान समेत गर्न सकिने साथै त्यसका लागि आवश्यक सम्पूर्ण सुविधा प्रदान गरिने जग्गाधनीहरुलाई जानकारी गराइएको छ ।

चन्द्रमाको जमिन बिक्री वितरणबाट प्राप्त भएको रकम लुना सोसाइटी इन्टरनेशनलले ‘गो ग्रीन अभियान’ अन्तर्गत कार्य सञ्चालन गरिरहेको जनाएको छ । जुन भविष्यमा मानव जातिका लागि चन्द्रमा यात्रा र त्यहाँ बस्ती बसाल्न वातावरण बनाउनेसम्मको परिकल्पनाका लागि सहयोगी हुनसक्ने जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्