सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

राज्यले नचिनेका वैज्ञानिक ‘रोबर्ट व्वाइ’ विकल्प

विद्यालय जीवनबाटै विज्ञानसँग सम्वन्धित धेरै प्रविधिको आविस्कार गर्न सफल युवा हुन, कास्कीका विकल्प ढुंगाना । आम मानिसले पत्याउनै नसक्ने गरी विभिन्न प्रविधिको विकास गरेर सानै उमेरमा उनले धेरैलाई चकित बनाईदिएका छन ।

विज्ञान प्रविधिसँग उनी ९ वर्षको उमेरबाटै जोडिएका थिए । जुन समय उनी कक्षा ४ मा अध्ययन् गर्थे । अहिले वर्षले १९ लागेका विकल्प ढुङ्गाना विज्ञान तथा प्रविधिको आविस्कारमा निकै मेहनतका साथ लागिरहेका छन् ।

उनको उत्साह अहिले पनि घटेको छैन, बढिरहेको छ । निरन्तर आविस्कारमै क्रियाशील छन् विकल्प । उपकरण निर्माण गर्ने क्रममा उनले विभिन्न समस्या भोग्दै पनि नआएका होइनन् । रुची अनुसारको अनुसन्धानात्मक काम गर्ने क्रममा आर्थिकका साथै अन्य धेरै समस्या परेको सम्झन्छन् उनी ।

‘मैले यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचेको छु,’ उनले भने, ‘म आफ्नो उद्देश्यमा पुग्न निरन्तर लागिरहनेछु ।’ औपचारिक शिक्षालाई भन्दा पनि वैज्ञानिक आविस्कारलाई विशेष जोड दिएका विकल्पको सोच छ, प्रविधिको आवस्किारकै क्षेत्रमा केही गरेर देखाउने ।

घरपरिवारसँगै बसेर टिभी हेर्दै थिए उनी । जुन समय वैज्ञानिक आविस्कार सम्वन्धी ज्ञानका कुरा टिभीमा आइरहेको थियो । सँगै रहेकी उनकी आमाले छोराले पनि यस्तै काम गरेर आफ्नो नामलाई उच्च बनाए हुन्थ्यो भन्ने भाव प्रस्तुत गर्दै छोरातिर हेरिन् । त्यही बेला विकल्पले संकल्प गरे, ‘अरुले भन्दा नयाँ केही गर्छु र आमाको सपना साकार पार्छु ।’

विज्ञान संकायमा प्लस टु अध्ययनरत ढुङ्गाना निकै मेहनती छन् । नयाँ प्रविधि आविस्कार गर्नु आफ्नो सोख भएको बताउँछन् उनी । विभिन्न प्रतियोगिता तथा प्रदर्शनीमा भाग लिएर आफैले निर्माण गरेका सामान प्रदर्शन गरिसकेको छन् विकल्पले ।

निजी विद्यालयबाट सहभागी हुँदा कतिपय प्रतियोगितामा आफू पछि पर्ने गरेको सम्झना पनि ताजै छ उनीसँग । त्यसैले कक्षा ८ बाट उनी अध्ययनको लागि सरकारी विद्यालयमा प्रवेश गरे । विद्यालय उमेरमै राष्ट्रिय स्तरका विभिन्न पुरस्कारबाट पनि ढुङ्गाना सम्मानित भइसकेका छन् ।

विद्यालय जीवनमा उनले इलेक्ट्रिक डोजर, फुटवल खेल्ने रोवट, जमिन, पानी र आकासमा चल्ने गाडी, म्यानुअल लोडिङ एण्ड लिफ्टिङ रोवट पार्ट १, पार्ट २, घाँस काट्ने रोवट, ईको फ्रेन्ड्ली भेइकल, भ्याकुम क्लिनिङ रोवट पार्ट १, २, पुलिस रोवट, हेलिकप्टर, केवलकारको नमुना, ¥यापिड बम डिस्फोजल रोवट, डोर अलर्टिङ सेन्सर लगायतका सामान बनाएर सबैलाई चकित पारिसकेका छन् ।

पृथ्वी राजमार्गको त्रिशुलीमा हुने दुर्घटनालाई मध्यनजर गरेर उनले म्यानुअल लोडिङ एण्ड लिफ्टिङ रोवट बनाएका हुन् । पानीमा भित्रसम्म जान सक्ने र यसमा फिट गरिएको क्यामेराले पानी भित्रसम्म हेर्न सकिन्छ । सानोतिनो आगलागी भएमा पनि यसले आफै निभाउन सक्छ ।

नाष्टमा काम गर्ने उद्देश्यका साथ उनी काठमाडौं पुगे तर उनको उद्देश्य पुरा हुन सकेन । विभिन्न बहानामा त्यहाँ काम गर्न नदिएको तितो यथार्थ छ उनीसँग । ‘कृषि क्षेत्रमा प्रयोग तथा उपयुक्त हुने उपकरण पनि निर्माण गरेको छु,’ उनी भन्छन, ‘मकै भाँच्ने, बिउ छर्ने लगायत विभिन्न काममा यसको प्रयोग गर्न सकिन्छ ।’

उनको घर परिवारले विभिन्न सामाजिक काम गर्दै आएका छन् । सामाजिक कामबाटै प्रभावित भएकै कारण उनले व्यासको तपोभूमि तनहुँको व्यास गुफामा भजन गाउँदा बत्ती बल्ने प्रविधि पनि जडान गरेका छन् । यसको प्रभावका कारण पनि त्यस क्षेत्रमा पर्यटक बढ्ने गरेको सुनाउँछन् विकल्प ।

(यो रिपोर्ट रविना ढकालले आर्थिक आवाजका लागी तयार पारेकी हुन ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS