चोर पोई छुटाउन पुलिसलाई घुस खुवाउन खोज्दा
सार्वजनिक गाडीमा पाकेट मारीरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको श्रीमानलाई छुटाउन प्रहरीलाई घुस खुवाउन खोज्ने ‘पाकेमारकी पत्नी’ समेत पक्राउ परेकी छिन् ।
बुधबार कोटेश्वरबाट गौशाला जाँदै गरेको सार्वजनिक गाडीमा ‘आले’ भन्ने विवेक लामाले काभ्रेको धुलिखेल स्थायी घर भएका सरोजको गोजीमा हात हालेर उनीसँग रहेको रकम निकाल्दै गर्दा सादा पोशाकमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउपछी ललितपुरको ग्वार्को बस्दै आएका विवेकमाथि प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको बेला विवेककी श्रीमती २३ बर्षिया शर्मिला लामाले आफ्नो ‘पाकेटमार श्रीमान’ छुटाउन अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीलाई ३ लाख भन्दा बढी घुस रकमको प्रस्ताव गरेकी थिईन ।
‘यसरी प्रहरी कर्मचारीलाई घुस रकम दिन खोज्ने शर्मिला तामाङलाई उनले दिन ल्याएको रकम सहित नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘उनको साथबाट ३ लाख २४ हजार नगद बरामद भएको छ, आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
शर्मिलाले आर्थिक प्रलोभन देखाएर अनुसन्धान प्रभावित बनाइ पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरेर फसाउने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।
‘आले’ समूहले आ–आफ्नो काम छुट्याएर सार्वजनिक यातायातमा यात्रारत यात्रुहरुलाई घचेटेर हुलदंगा गर्दै योजनाबद्ध पाकेटमारी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पाकेटमारी गर्ने क्रममा पिडितले थाहा पाएमा रकम भुँइमा फालेर पुनः पीडितलाई ‘तपाईको पैसा झरेको रहेछ’ भनि फिर्ता दिने उनीहरुको ‘ट्याक्टिस’ रहेको बताईएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्