सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

भारत जानुअघि पार्टी एकता गर्ने ओलीको प्रयास

चैत २३ गते भारत जाने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अगाडी सारेका छन् । भ्रमणको मिति औपचारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

चैत २५ गतेसम्म हुने प्रधानमन्त्री ओलीको भ्रमण राजकीय हुने भएको छ । ओली निकट एमाले नेताहरुका अनुसार ओलीले माओवादी केन्द्रका नेताहरुसामू आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने प्रस्ताव राखेका छन् । त्यसको पुष्टि गर्दै माओवादी केन्द्रका एक नेताले भने, ‘कुरा आएको छ तर, भ्याइन्छ कि भ्याइँदैन भन्न सकिन्न ।’

यसअघि नेताहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन १० बैशाखमा एकता घोषणा गर्ने बताएका थिए । एमाले र माओवादीले साझा घोषणा पत्र र उम्मेद्वार बनाएर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लडेका थिए ।

प्रमुख पदहरुमा भागवण्डा गरेका दुई दलले केन्द्रका साथै ६ वटा प्रदेशमा संयुक्त सरकार बनाएका छन् । पार्टिको निर्देशक सिद्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ रहने र एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने बिषयमा फागुन ७ गते सात बुँदे सहमति भएको थियो ।

त्यसपछि संगठनात्मक संरचना र सैद्धान्तिक राजनीतिक विषयमा गृहकार्य गर्न कार्यदल पनि बनेकोमा कार्यदलका धेरै सदस्य मन्त्री भएपछी एकता सम्वन्धी छलफलले प्राथमिकता पाएको छैन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्