सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सेनाको लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी

नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएको छ । शनिबार विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् ।

प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् । उनीहरु सबैले अर्काको नाममा परीक्षा दिँदै थिए ।

आफ्नो परीक्षा दिन अरुलाई पठाउने एक जना पनि पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर थप अनुसन्धान अघि बढाइएको पोखरेलले बताएका छन । यसअघि सुरक्षा निकायमा परीक्षामा यसरी नक्कली परीक्षार्थी भेटिने गरेका थिएनन् ।

शैक्षिक परीक्षाहरुमा अहिले नक्कली परीक्षार्थीको बिगबिगी हुने गरेको छ । अब यो ‘रोग’ रोजगारीका लागि लिइने सरकारी स्तरका परीक्षाहरुमा पनि सरेको छ । कमजोर परीक्षार्थीले आर्थिक मिलेमतो गरेर नक्कली परीक्षार्थी पठाउने गरेका छन् ।

कतिपय भने आफन्त तथा साथीसंगी पनि यस्तो काममा संलग्न हुने गरेका छन् । शनिबार पक्राउ परेकामध्ये ८ जना महिला छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्