सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यौन काण्डमा मुछिए राजपाका हाई प्रोफाईल नेता

स्वास्थ्य क्षेत्रमा काम गर्ने एक महिलाले सरुवा गराई दिने नाममा आफूलाई राष्ट्रिय जनता पार्टीका एक नेताले यौन शोषण गर्नुको साथै रकम पनि लिएको आरोप लगाएकी छिन् । ती महिलाले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंह माथि उजुरी गरेकी हुन् ।

धनुषाको बनिनियाँ हेल्थ पोष्टमा कार्यरत मिरा झा (नाम परिवर्तन) ले नेता सिंहमाथि यौन शोषण र रकम लेनदेनको आरोपमा उजुरी दायर गरेकी छिन् । झाका अनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रिय सदस्य र केयर सोसाइटीका अफ नेपालको अध्यक्ष भनि परिचय गराएका थिए ।

त्यसपछि सिंहसँग झाले सरुवा गराइदिन आग्रह गरेकी थिइन् । उनले जिल्ला प्रशासन कार्यालय धनुषामा दायर गरेको निवेदन पत्रमा भनिएको छ–‘सिंहले ‘म जुनसुकै काम गराउन सक्छु । सरुवा गराउने कुरा कुनै ठूलो कुरो होइन । यो मेरो दाहिने हातको खेल हो । राजेन्द्र महतो मेरो अत्यन्तै नजिकका हुन् । मैले भनेपछि उहाँले जेपनि गर्नुहुन्छ’ भन्ने कुरा राखेका थिए ।

रमनले राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग भेटाउनका लागि आफूलाई काठमाडौ ल्याएको समेत उजुरीमा उल्लेख गरेकी छिन् । मिराका अनुसार सिंहले महतोको निवासमा तीन पटक लगेर भेट समेत गराएका थिए ।

‘अध्यक्ष महतोले पनि मलाई सरुवा गराई दिने आश्वासन दिनु भएको थियो,’ मिराले भनिन्, ‘सरुवाको काम लिएर काठमाडौँमा केही दिन लाग्ने र सरुवा र अन्य खर्च लाग्ने भनेपछि मैले रमनलाई एकलाख ३७ हजार रुपियाँ पनि दिएँ ।’

उजुरीमा सरुवाको लालच दिएर नेता सिंहले काठमाडौको गौशालास्थित रोज स्टार लज भन्ने होटलमा पुस २५ गतेदेखि माघ चार गतेसम्म राखेको र सरुवाको लोभ देखाउँदै विभिन्न परिबन्धमा पारी पटक–पटक यौन शोषण गरेको उल्लेख छ ।

त्यसपछि अध्यक्ष महतोले एक महिनापछि आउनु भनेका भन्दै रमनले जनकपुर जाउँ भनेर बर्दिवासमा लगेर नबोबुद्ध होटलमा पनि राती राखेर यौन शोषण गरेको दाबी मिराले गरेकी छिन् ।

आफूलाई विभिन्न प्रलोभन देखाएर यौन शोषण गर्दा रमनले यो कुरा कसैलाई भनिस् भने जागिर खाइ दिने भन्नुको साथै ज्यान मार्ने धम्की समेत दिएको मिराले दिएको उजुरीमा उल्लेख छ ।

डराई धम्काई राखेको र ठूलो नेता भएका कारणले डरले कसैलाई यो कुरा नभनेको तर आफ्नो सरुवा पनि नगराई पैसा पनि फिर्ता नदिएको कारण बाध्य भएर उजुरी गरेको उनले बताइन् । अहिले पनि रमनले आफूलाई पटक–पटक फोन गरि शारिरीक सम्बन्ध राख्न दबाब दिइरहेको मिराले दाबी गरेकी छिन ।

त्यसको टेलिफोन रेकर्ड पनि उनले सुनाएकी थिईन । मिराले उपलब्ध गराएको अडियो रेकर्डमा दुईबीच धेरै पटक कुराकानी भएको देखिन्छ । उनीहरुको बीचको सुरुवाती कुराकानी ‘सौहार्दपूर्ण’ रहेको देखिन्छ । अडियोमा मिराको दाबी अनुसार नेता सिंह भनिएका पुरुषले मिरालाई यौनसम्बन्धको प्रस्ताव राखेको पनि प्रष्ट सुन्न सकिन्छ ।

त्यस्तै, ती पुरुषले मिरालाई पटक–पटक गरेको फोनमा उजुरी र मुद्दाबाट आफूलाई कुनै समस्या नहुने चेतावनी पनि दिएका छन् भने पुनः शारीरिक सम्बन्ध राख्नका लागि आग्रह पनि गरेका छन् ।

मेरो पैसा खानलाई मलाई फँसाउन खोजियोः रमन
यता, मिराले उजुरीमा लगाएको आरोप सबै गलत रहेको नेता सिंहको दाबी छ । मिराले आफ्नो ६ लाख रुपैयाँ खाएको र सो रकम फिर्ता माग्दा उल्टै आफूमाथि त्यस्तो आरोप लगाएको सिंहले बताएका छन ।

मिरा यसअघि एक वर्ष एउटा ठगीको मुद्दामा डेढ वर्ष जेल पनि बसेको रमन बताउँछन् त्यो कुरा मिराले पनि स्वीकारिन् । यसमा मिरा भन्छिन, ठगीको मुद्दामा मलाई त्यसबेला फसाइएको थियो ।’

सप्तरी निवासी मिरा झाको बिहे भारतमा भएको छ तर उनी जागिरका लागि नेपालमै बस्छिन् । श्रीमानलाई छाडेर जनकपुरमा बस्दै आएकी मिराको अन्य केटाहरुसँग पनि सम्बन्ध रहेको र जनकपुरमा पनि थुप्रैको रकम ठगेको आरोप नेता सिंहको छ । अन्य थुप्रैसँग पैसा ठगेको प्रमाण आफूसँग रहेको नेता सिंहको दावी छ ।

सरुवा गराईदिनु भन्नु नै मेरो गल्ती भयोः मिरा
मिरा भन्छिन, ‘म ठगी केशमा म जेल परेकी थिएँ । जेलबाट निस्केपछि जागिर ज्वाइन गरेको छु । म सिरहा वा सप्तरी सरुवा गराउन चाहन्छु । र, नेता सिंहले पूर्वस्वास्थ्यमन्त्रीसँग राम्रो सम्बन्ध रहेको भनेपछि सरुवा गराई दिन आग्रह गरेँ । यही नै मेरो गल्ती भएछ ।’

‘सरुवा गराई दिन्छु भनेर लाख भन्दा बढी पैसा पनि लियो । इज्जतसँग खेलबाड गर्यो,’ उनले भनिन् । गत पुसदेखि लगातार आफूसँग नेता सिंहले शारिरीक सम्बन्ध राखेको र बिहे गर्न समेत प्रस्ताव गरेको दाबी गरिन् । यो कुरा उनीहरुको फोनमा भएको संवादमा पनि सुन्न सकिन्छ ।

काठमाण्डौबाट फर्केपछि बर्दिवास, बर्दिवासबाट फर्केपछि जनकपुरको वेलकम होटल, भारत विहारको जयनगरको राजस्थान होटलसम्म राखेर आफूसँग शारीरिक सम्बन्ध राखेको र त्यसको सम्पूर्ण प्रमाण आफूसँग रहेको दाबी मिराले गरेकी छिन ।

उनले वेलकम होटल र बर्दिवासको नमोबुद्धमा सँगै बसेको बील पनि प्रमाणको रुपमा उपलब्ध गराएकी छिन् । माघ ४ गते नमोबुद्ध होटेलको रुम नम्बर २०५ मा बसेका सिंहले मिरासँगको सम्बन्धलाई श्रीमान श्रीमती उल्लेख गरेका छन् भने पेशा राजनीतिज्ञ उल्लेख गरेका छन् । तर, ठेगानामा राजविराज लेखका छन् जब कि उनी जनकपुरका हुन् ।

यता, रमन भन्छन, ‘त्यो पुरै गलत बील हो । त्यो दिन म त्यहाँ बसेकै छैन । यदि म त्यहाँ बसेको भए जनकपुरको सट्टा राजविराज किन लेख्थेँ । मिराले मेरो ६ लाख रुपैयाँ पचाउनका लागि यी सब खेल खेलिरहेकी छिन् । अहिले नै मैले छ लाख रुपियाँ दिनुपर्दैन भने भनेँ उनले सबै मुद्दा फिर्ता लिन्छिन् ।’

(यो समाचार रातोपाटीबाट साभार गरिएको हो । समाचारमा उल्लेख गरिएको अडियो टेप र होटलको बिल रातोपाटीसँग सुरक्षित भएको समाचारमा उल्लेख गरिएको छ ।)

फेसबुकबाट कमेन्ट गर्नुहोस्