सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

विमलकी बहिनी मनिषाको हत्या नभई आत्महत्या

राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगरको हत्याको आरोप लागेका आशिष भनिने रुद्रनारायण चौधरी निर्दोष रहेको पाईएको छ । मनिषाको मृत्यु झुण्डिएर भएको पृष्टि भएपछी आरोपित रुद्रनारायणले सफाइ पाएका हुन ।

वि.सं २०७३ जेठ १३ गते बिहान मनिषा आफ्नै घर बर्दघाट–८ मा मृतावस्थामा भेटिएपछि उनकै प्रेमी आशिषले उनको हत्या गरेको भन्दै नवलपरासी जिल्ला अदालतलमा मुद्दा दायर गरिएको थियो । अदालतको फैसलामा आशिष निर्दोष भएको भन्दै सफाइ दिइएको छ भने मनिषाको मृत्यु झुण्डिएर भएको उल्लेख गरिएको छ ।

शव परीक्षण प्रतिवेदनमा पनि चिकित्सकले उनको मृत्यु झुण्डिएरै भएको उल्लेख गरेका थिए । मनिषा हत्यामा आशिष नै संलग्न भएको भन्दै नवलपरासी प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आशिषविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरी जन्म कैदको सजाय माग गरेको थियो ।

मनिषाको मृत्यु भएपछि पक्राउ परेका आशिषसँग २१ दिन लामो अनुसन्धान र घटनास्थलमा फेला परेका प्रमाणका आधारमा जिल्ला प्रहरी कार्यालयले आशिषले नै प्रेम सम्बन्धमा आएको गतिरोधका कारण मनिषाको हत्या गरेको निष्कर्ष निकालेको थियो ।

मनिषा र आशिषबीच मोबाइलमा भएको कुराकानी, कल रेकर्ड र मोबाइल म्यासेज मार्फत भएको कुराकानी लगायतका विषयमा अनुसन्धान गर्दा उनीहरुबीच प्रेम सम्बन्धको विषयलाई लिएर झगडा भएको प्रहरीले बताएको थियो ।

जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले गरेको फैसलामा आशिषमाथि लगाइएको हत्याको आरोप प्रमाणित हुन नसकेको र मनिषाको मृत्युको कारण झुण्डिएर नै भएको उल्लेख गरिएको छ । अदालतले पुर्पक्षका लागि कारागारमा रहेका आशिषलाई थुनामुक्त गर्न समेत आदेश दिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्