मनोजको डायरीमा भेटियो ३ सय व्यापारीको लिष्ट
गुन्डानाइके मनोज पुन सहयोगी सोमबहादुर आलेसँगै गत फागुन ९ गते एकाबिहानै प्रहरी इन्काउन्टरमा मारिए । पुन इन्काउन्टरमा मारिएपछि उनको गोप्य दस्तावेज प्रहरीले फेला पारेको छ ।
पुनको डायरीमा व्यापारी लगायतका ३ सय जनाको नाम चन्दा असुलीको सुचीमा रहेको रुपन्देहीमा एसपी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन । ३ सयको नाममा आधाजसो ठेकेदार र आधाजसो व्यापारीको नाम छ ।
‘इलामदेखि अत्तरियासम्मका व्यापारी र ठेकेदारको नाम पुनको डायरीमा हामीले भेट्यौं,’ एसपी ज्ञवालीले भने, ‘नाम चलेका सयौं व्यापारीसँग उनले रकम माग गर्थे ।’
एउटा व्यापारी वा ठेकेदारसँग कम्तीमा ५ लाखदेखि करोडौंसम्म मागेको हामीले फेला पार्यौं,’ एसपी ज्ञवालीले भने, ‘जग्गा प्लटिङ गर्नेहरूसँग समेत पुनले रकम माग्थे ।’
पुनको मृत्युपछि अहिले भैरहवा र बुटवल क्षेत्रमा व्यापारी तथा ठेकेदारहरुले आफूहरुले राहतको सास फेरेको बताएका छन । दुर्गा तिवारीको हत्यापछि व्यापारीहरु डरले साँझ बिहान घरबाहिर हिँड्नसमेत छोडेका थिए ।
पुनले चन्दा मागेका एक व्यापारीले भने–‘म मर्निङ वाकमा निस्कन थालेको झन्डै १ महिना भयो ।’ चन्दाका लागि पुनले दिएको धम्की र त्रासका कारण आफू केही समयदेखि डिप्रेसनको सिकार भएको पनि उनले बताएका छन ।
पुनसँगै सुटर आले मारिएपछि उनको समूहका १८ जना अहिले जेलमा छन् । केही भागेर भारत पुगेका छन् । मनोजका अत्यन्तै नजिकका सहयोगी श्यामबहादुर गोङबे, शालिकराम चापागाईँ लगायत अहिले जेलमा छन् ।
त्यसैले अहिले पुनको समुह तहसनहस भएको छ । ३० वर्षीय मनोज पुन रुपन्देहीको देवदह नगरपालिका–६ का स्थानीय बासीन्दा थिए । उनको वास्तविक नाम मनोज बुढा मगर हो । उनी कुनै बेला नेकपा एमालेको ‘युथ फोर्स’को सदस्य थिए । पछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर–१ का कोषाध्यक्ष पनि भए ।
उनी फिरौती माग्ने, गुण्डागर्दी गर्नेजस्ता गतिविधिका साथै गैरकानुनी काम गरेको अरोपमा युथ फोर्सको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका थिए । पार्टीबाट अलग भएपछि पुनले पूर्णकालीन आपराधिक क्रियाकलाप सुरू गरेको प्रहरी बताउँछ ।
गुन्डागर्दी र फिरौतीमा मुछिएर पुन ३ पटकसम्म प्रहरी हिरासतमा बसेका थिए । तिवारी हत्यापछि भने उनी लामो समयसम्म भारतको गोवामा लुकेर बसेको प्रहरीको दाबी छ ।
कुमार घैंटे इन्काउन्टरपछि डराएर भारत पुगेका अर्का गुन्डा नाइके समिरमान बस्नेतसँग उनको भेट भएको प्रहरी श्रोत बताउँछ । ‘केही समय उनीहरू मिलेरै काम गरे । रकम बाडँफाँड र प्रहरीलाई सुराकी गरेको भन्दै पुन र बस्नेतबीच विवाद भयो,’ प्रहरी स्रोतले भन्यो ।
निर्माण व्यवसायी शरद गौचनको हत्याको आरोपमा बस्नेतलाई केही महिनाअघि प्रहरीले पक्रिसकेको छ । भारत बसेर नेपालमा गुन्डागर्दी चलाउँदै आएका पुनले अफ्नो राज चलाउन नेपालमा सुचनाको संजाल चलाएको प्रहरी बताउँछ । व्यापारी, व्यवसायीका दैनिकीका सूचना राखेर उनीहरुलाई फोन गर्न थालेपछि मनोजको त्रास बढेको स्थानीय बताउँछन् ।
एकजना प्रहरी अधिकारीले भने–‘कसले जग्गा प्लटिङ गर्यो, कसले के नयाँ कारोबार गर्यो वा लेनदेन गर्यो सबैको सूचना राखेर तुरुन्त उसले सम्बन्धित व्यक्तिलाई फोन गर्थ्यो ।’ प्रहरीका अनुसार दुर्गा तिवारी हत्याको विरोधमा एमालेको भातृ संगठन युवा संघ उत्रिँदा स्थानीय नेताहरुलाई फोन गरेर पुनले तर्साएका थिए ।
युवा संघका राजु गुरुङले सार्वजनिक कार्यक्रममा सम्बोधन गरेर हत्याको विरोध लगत्तै उनलाई पुनले मलेसियाबाट फोन गरेर धम्क्याएको प्रहरी बताउँछ । फोनमा पुनले गुरुङलाई ‘निलो टिर्सट लगाएर खुबै भाषण छाँटनुभयो, निलो टिसर्टबाट रातो रगत बग्ला’ भनेर धम्की दिएको प्रहरी बताउँछन् ।
भारत बस्दा उनले आफ्ना प्रतिद्वन्द्वी, व्यापारी, ठेकेदार मात्र होइन प्रहरीलाई समेत फोन गरेर धम्की दिन्थे । उनले धेरै फोन गर्ने प्रहरी भनेको रुपन्देहीका तत्कालीन एसपी रवीन्द्र धानुक हुन् । गोवामा बसेका पुनलाई पक्रन धानुकले एकपटक प्रहरी परिचालन गरे । गोवामा प्रहरी आउँदै गरेको सूचना पाएर पुनले धानुकलाई फोन गरे ।
‘फोनमा पुनले परिवारको माया छैन है, तपाईंको श्रीमती सिटी सेन्टरमा पिंक कलरको साडी लगाएर घुमिरहनु भएको छ नि अहिले’ भनेपछि धानुकले गोवा जाँदै गरेको प्रहरीलाई फिर्ता गराएको प्रहरीको दाबी छ ।
पुनले यसरी व्यापारी, व्यवसायी र प्रहरी अधिकृतसमेतका मसिना सूचना राखेर तर्साउन थालेपछि नै प्रहरीले उनलाई जसरी पनि पक्रने र कारबाही गर्ने निर्णय गरेको प्रहरी श्रोतले बतायो ।
गत पुस २१ गते फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको पुन समूहले जिम्मेवारी लिएपछि प्रहरीले सक्रियता बढायो । पुन मुम्बईको आसपासको क्षेत्रमा बस्दै आएको प्रहरीले पत्ता लगायो । त्यहाँ उनलाई जोगिन्दर सिंहले सेल्टर दिएको पनि थाहा लाग्यो । सिंह त्यो व्यक्ति हुन् जोसँग नेपाल भारत दुबै देशको नागरिकता र पासपोर्ट छ ।
नेपाल प्रहरीले व्यापक सुराकी परिचाल गरेर पुन बस्ने ठाँउ, ठेगाना पत्ता लगायो । ‘त्यसपछि काठमाडौंबाट गएको टोलीले उनलाई समातेर ल्याएको हो,’ एक प्रहरी अधिकृतले भने । उनलाई पक्रिएको भोलिपल्ट रुपन्देहीमा प्रहरी इन्काउन्टरमा पुन मारिएको खबर आयो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्