सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

यस्तो छ, दरबारमार्ग बलत्कार काण्डको नालिबेली

निकै चर्चित काठमाण्डौको दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त भनिएका शैलेश कार्की अहिले प्रहरी हिरासतमा बसिरहेका छन् । गत माघ ७ गते भएको बलत्कार काण्डका मुख्य अभियुक्तको रुपमा चैत ५ गते पक्राउ परेका रामेछाप, दुरागाउँका कार्कीसँग प्रहरीले बयान लिएर सकाएको छ तर, प्रहरीको अनुसन्धान अँझै पूर्ण भइसकेको छैन ।

मुख्य अभियुक्त भनिएका कार्कीसहितको समूहले गत माघ ७ गते दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोग लागेको छ । प्रहरीकै मिलेमतोमा घटना लुकाइएको घटना बाहिर आएपछि यसले धेरैको ध्यान तानेको थियो ।

दरबारमार्ग प्रहरी वृत्तका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परे । वृत्तका प्रमुख डीएसपी तिलक भारती समेत जिम्मेवारीबाट हटाइए । तर, पीडित परिवारले ३० लाख लिएको खुलेपछि यो घटना थप रहस्यमय बनेको थियो ।

शैलेश पक्राउ परेपछि पनि प्रहरी अनुसन्धानमा भने ठोस प्रमाण हात लागेको छैन । शैलेशको दाबी छ, घटना भएको भनिएको दिन उनीहरु सँगै बसेका हुन् र सहमतिमै शारीरिक सम्वन्ध भएको हो । तर, सामुहिक बलात्कार होइन ।’ घटनामा संलग्न हेटौंडाका दीपक श्रेष्ठ, विकास गौतम र रवी पौडेल अँझै फरार छन् ।

अभियुक्त भनिएका कार्कीको भनाइ जस्ताको तस्तैः

हाम्रो पुस्तौनी घर रामेछाप भए पनि काठमाडौंमै बस्छौं । दुरागाउँ साब्रामा हजुरबुबा र काकाहरु हुनुहुन्छ । म एकपटक मात्र गाउँ गएको छु । बुबा साउदी अरबमा हुनुहुन्छ । जसलाई बलात्कार गरियो भनिएको छ उनी मेरो केटी साथी हुन् ।

करिब पाँच/छ महिना पहिले उनीसँग मेरो फेसबुकबाटै चिनजान भएको थियो । सुरुमा सामान्य ‘हाइ, हल्लो !’ मात्रै हुन्थ्यो । विस्तारै बाक्लै कुराकानी हुन थाल्यो । उनले पनि धेरै म्यासेज गरिराख्थिन् । म पनि गर्थें ।

विकास गौतम दाइहरुसँग काममा धेरैतिर हिँडिरहनु पर्ने भएकाले धेरै समय चाहिँ हुँदैनथ्यो । दाइको ठेक्कापट्टाको काम सघाउनु पथ्र्यो मैले । सामानहरु ल्याउने, ट्रकबाट पार्टहरु पठाउने कहिले काँही बाइकमा आफै हेटौंडासम्म लाने पनि गरेको थिएँ ।

पहिलो पटक घटना हुनु भन्दा करिब एक महिनाअघि उनैले मलाई बोलाएकी थिइन् । त्यो दिन भेटघाट भएपछि हामी एउटा होटलमा सँगै बसेका थियौं । घटना भएको दिन पनि उनले नै भेट्न बोलाएकी हुन् । उनले पठाएको म्यासेज अँझै पनि सुरक्षित छ ।

मैले मेरो दाइहरु हेटौंडाबाट आउनु हुँदैछ, आज भ्याउँदिन भनेँ । भोलिपल्ट दाइहरुको चेन्नइको फ्लाइट थियो । तर, उनले एकछिन भए पनि भेटौं न भनेर जिद्दी गर्न थालिन् । अलि, बेलुका ६ बजे भेट्ने कुरा भएको थियो । उनले पुरानो साथी आउँछे, ठमेल जाने भनेर भनेकी थिइन् ।

दिउँसो दाइको मिटिङ थियो । मलाई पनि लाजिम्पाटतिर बोलाउनु भयो । म गएँ । त्यहाँ पुगेको १०/१५ मिनेट मात्र भएको थियो, उनको फोन आयो । साँझ भेट्ने भनेर टुंगो लागेको दिउँसै आएपछि म अक्क न बक्क भएँ । दरबारमार्ग आएर फोन गरेकी रहिछिन, मैले लाजिम्पाटमा भएको बताएँ ।

उनी लाजिम्पाट नै आइन् । त्यहाँ सँगै खाजा खायौं, कुराकानी भयो । केहीबेरमा दाइले भेट्नु पर्ने मान्छे त्यहाँ आइपुगे । खाजा खाएर दाइ निस्किन लाग्नु भएको थियो । मैले दरबारमार्गसम्म लगिदिनु भनेँ । उनले मलाई छोड्नै मानिनन् । के गर्ने ? कता बस्ने ? केही टुंगो भएन । मैले दाइ हुनुहुन्छ भन्दा पनि मानिनन् ।

अनि, हामी पनि ल्याण्डमार्क होटल नै गयौं । ऊ र म एउटा कोठामा बस्यौं । हामीबीच बेलुका दुईपटक शारीरिक सम्पर्क भयो । तर, त्यहाँ हामी बाहेक अरु कोही पनि थिएन ।

बिहान उनले मलाई घरसम्म छोड्ने खोजेको थिइन् । तर, दाइसँग काम थियो । मैले काम छ, तिमी ट्याक्सीमा जाउ भनेर एक हजार रुपैयाँ पनि दिएँ । उनलाई अब ३/४ दिन म भ्याउँदिन होला भनेँ । तर, घर जानु पर्नेमा चौकी गएर केश पो हाल्दिछे !

त्यो दिन ल्याण्डमार्कमै बस्नु भएका दाइहरुले उनको अनुहारै पहिलो पटक देख्नु भएको थियो । मसँगको भेट पनि दोस्रो थियो । प्रहरीमा केश हालेको थाहा पाउने वित्तिकै भोलिपल्टै भेट्न गएँ । सोधेँ, ‘किन तिमीले यस्तो गरेको ?’ ‘तिम्रो फोन अफ थियो । अनि, मलाई अब भेट्दैनौं होला भन्ने लाग्यो । अनि, मौखिक उजुरी दिएको हुँ’ भनिन् ।

उनलाई थाहा थियो, म काममा थिएँ भनेर । मैले भनेको पनि थिएँ । तर, उनले खै किन त्यस्तो सोचिन् थाहा छैन । मैले ‘मेरो त नाम लियौ । दाइहरुको नाम चाहिँ किन लिएको ?’ भन्दा उनले ‘होइन, मैले अरुको नाम लिएको छैन । को–को हो भनेर सोध्दा उहाँहरुको नाम भनेको हुँ’ भनेर भनिन् ।

अब के गर्ने त भन्ने कुरा निस्कियो । उनले नै अब बिहे गरौं भनिन् । अझ तिमी र म भागौं भन्ने कुरा गरिन् । पोखरा जान तयार भइसकेका थियौं । तर, मैले उनलाई कति दिन भाग्ने ? भनेर भनेँ । ममी, ड्याडीसँग कुरा गरौं भनेँ । कुरा हुँदा ड्याडीले ‘छोरी राजीखुशी छे भने म रेडी छु’ भन्नु भयो ।

अनि, चौकीमा पनि उनले आवेशमा आएर आफूले केश हालेको बताएकी थिइन् । प्रहरीले ड्याडीलाई नै ल्याउनुपर्छ भनेपछि ममी र ड्याडलाई भेट्न म आफैं पनि गएँ । तर, त्यहाँ पुग्ना साथ मलाई त उनको ममीले पिट्न पो थाल्नु भयो । उनको खातामा हालेको पैसाको सन्दर्भमा कसले हालेको हो भन्ने मलाई थाहा छैन ।

मैले त त्यसबेलै पनि सरेन्डर गरेको हुँ । अहिले पनि सरेन्डर नै गरेको हुँ । होटलवालाले सोधेको इन्टरभ्यूमा पनि उनले ‘त्यहाँ के भएको हो भनेर सोध्दा बोलेकी थिइनन् । विहान ‘हग’ गरे हिडेको हो । सीसी क्यामेरामै पनि होला त्यो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्