खेलाडीलाई ३४ ओटा कण्डम र आइसक्रिम सित्तैमा
अष्ट्रेलियाको गोल्डकोष्टमा हुने राष्ट्रमण्डल (कमनवेल्थ) खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । बुधबार उद्घाटन हुने खेलमा सहभागिताका लागि हजारौँ खेलाडी तथा सहयोगीहरु त्यहाँ पुगिसकेका छन् ।
अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रको यो सहरको मौसम घमाइलो हुनाका कारणले खेलाडीहरु आफैंमा प्रफुल्लित छन् । तर खेलाडीको खुसी अँझै बढाउनका लागि आयोजकले अनौठो जुक्ति अपनाएका छन् ।
आयोजकले हरेक खेलाडीलाई दिनहुँ सित्तैमा आइसक्रिम प्रदान गर्ने व्यवस्था गरेका छन् । ६ हजार जना खेलाडी तथा टिमका अधिकारीहरुलाई खेलग्राममा आरामदायी सुविधा प्रदान गरिनेछ ।
खेलाडीहरुको सुरक्षामा विशेष ध्यान दिइएको छ र त्यस्तो सुरक्षा अन्तर्गत यौन सुरक्षालाई पनि समेटिएको छ । सोही कारण प्रतियोगिताका लागि भन्दै २ लाख २५ हजार थान कण्डम खरीद गरिएको छ । यो हिसाबले हरेक खेलाडीलाई ३४ वटासम्म कण्डम पर्दछन् ।
११ दिनसम्म चल्ने प्रतियोगितामा खपत हुने अनुमान गरिएको कण्डमको संख्या प्रति खेलाडी प्रतिदिन तीनवटा रहेको छ । स्मरण रहोस, दक्षिण कोरियामा हालै भएको शीतकालीन ओलम्पिकका बेला आयोजकले १ लाख १० हजार निःशुल्क कण्डम वितरण गरेका थिए ।
जुन शीतकालीन ओलम्पिकमा अहिलेसम्मकै सबैभन्दा धेरै हो । रियो ओलम्पिकमा ४ लाख ५० हजार कण्डम वितरण गरिएको थियो । त्यतिबेला जिका भाइरसको आतंक थियो ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्