सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बाइक किन्न दिएको पैसाले वडाध्यक्षले खने सडक

नवनिर्वाचित जनप्रतिनिधिहरुले सरकारी बजेटबाट आफ्ना लागि बिलासी सामाग्रीहरु किनेको समाचार प्राय आउने गरेका छन् । महङ्गो मोबाइलदेखि विलासी गाडी किन्न उनीहरुको होडबाजी नै हुने गरेको छ । तर, ओखलढुंगामा एक वडा अध्यक्षले भने मोटरसाइकल खरिदका लागी छुट्याएको बजेटले स्वास्थ केन्द्र जाने बाटो निर्माण गरेका छन् ।

चम्पादेवी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष सुरेश थापाले वडा कार्यालयलाई मोटरसाइकल खरिदका लागी बिनियोजन गरेको बजेटबाट स्वास्थ्य केन्द्रसम्म जाने बाटो निर्माण गरेका हुन् ।

वडा अध्यक्षको सहजताका लागी गाउँपालिकाले मोटरसाइकल किन्न पाँच लाख रुपैयाँ बजेट दिएको थियो । तर, उनले सो बजेटबाट आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्र सम्म पुग्ने बाटो निर्माण गरेका हुन् ।

वडा अध्यक्ष सुरेश थापाले भने–‘मोटर साइकलभन्दा सर्वसाधारणको स्वास्थ्य ठूलो कुरा हो । स्वास्थ्य केन्द्रसम्म पुग्ने बाटो थिएन त्यसैले मोटरसाइकलको बजेट बाटोमै खर्चिएँ ।’

साविकको फुलबारी गाविस हाल दुई वटा वडा भएकाले आफ्नो वडामा स्वास्थ्य चौकी नपरेपछि स्वास्थ्य केन्द्र स्थापना गर्न समेत थापाले जग्गा व्यवस्थापन र भवन निर्माणका काममा अगुवाइ गरेका थिए । अन्य वडाले उक्त रकम सवारी साधन खरिदमा खर्च गरेका छन् ।

यता, ओखलढुंगाकै चम्पादेवी गाउँपालिकाका प्रमुख सहित केही कर्मचारी तथा जनप्रतिधी भने भ्रष्टाचारको आरोप खेपिरहेका छन् । स्थानीय बासिन्दाले भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिका प्रमुख नवराज केसी सहित प्रशासकीय अधिकृत, लेखापाल तथा केही वडा अध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय र अख्तियारमा समेत उजुरी गरेका छन् ।

केहि दिन अघि मात्रै वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर खत्री मादक पदार्थ सेवन गरी सेवाग्राही तथा कर्मचारीलाई लागी गलौज गर्दा २४ घण्टा प्रहरी हिरासतमा बसेका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS