सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

स्टाफलाई वास्ना आउने, यात्रुलाई ठ्वाँस्स गन्हाउने

nepali-food

राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क अनि स्वादिष्ट भोजन । दशैं तिहार जस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटलमा सँधैजसो यही क्रम चल्दै आएको छ ।

राजमार्गका होटल तथा रेस्टुराँ व्यवसायीले बढी मूल्य असुल गरेर पनि यात्रुलाई गुणस्तरयुक्त खाना दिँदैनन् । तिनै होटल तथा रेस्टुराँले चालकका लागि भने अलग्गै कोठामामा विशेष भान्साको व्यबस्था गर्छन् ।

यात्रुवाहक बसका चालकसहित स्टाफका लागि अलग्गै कोठामा खसी र कुखुराको सुप सहित फ्राइ मासु वा सेकुवा, पापड, सलाद, कम्तीमा दुई थरी हरियो तरकारी, बासना आउने चामलको खाना सहित कोल्ड ड्रिंक्स पनि व्यवस्था हुन्छ ।

चालक सहित तीन चार जनालाई यस्तो विशेष भान्सा बाहेक यात्रु ल्याइदिए बापत दैनिक हजार रुपैयाँको आकर्षक भत्ता पनि होटेल व्यवसायीले दिने चालकहरू बताउँछन । चाडबाडमा उपहार स्वरूप बियर र महंगा मदिरा बेग्लै ।

यात्रुलाई भने कक्रक्क परेको नमिठो भात, बचेको छ भने बासी भात पनि मिसाएर, एक थोक तरकारी र दाल । हेर्दै खान मन नलाग्ने । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गका होटेल तथा रेस्टुराँका सम्बन्धमा गरेको पछिल्लो अनुगमनबाट चालक र यात्रुले खाने खानाको गुणस्तरमा यस्तो खाडल देखिएको हो ।

नौबिसे, खानीखोला, धार्के, गजुरी, मलेखु, रामनगर, मुग्लिन र नारायणघाट क्षेत्रका सडक खण्डका होटेल तथा रेस्टुराँले यात्रुलाई राजधानीको सामान्य होटेल भन्दा झन्डै तीन गुणा बढी मूल्य असुल गरी गुणस्तरहीन खाना खुवाउँदै आएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्