सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

गुण्डागर्दी गर्ने एलजी गु्रपका ललितसहित ३ पक्राउ

‘एलजी ग्रुप’का नाममा पोखरा र आसपासका क्षेत्रमा गुन्डागर्दी तथा चन्दाअसुली धन्दा चलाएको अभियोगमा गुण्डा नाईके ललित गुरुङसहित तीन जना पक्राउ परेका छन् । यसअघि पनि पटक पटक पक्राउ परेका गुरुङ्गसहित ३ जनालाई कास्की प्रहरीले पोखराको बैदामबाट पक्राउ गरेको हो ।

गुरुङले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ । पक्राउ परेका ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षण खोज्दै तरुण दलको नेता बनेका थिए ।

कास्की प्रहरी प्रमुख एसपी अशोक सिंहले पक्राउ गरिएको पुष्टि गर्दै भने–‘धाकधम्की देखाई चन्दा असुली गर्ने काममा सक्रिय रहेको सूचनाका आधारमा पक्राउ गरेका हौं । क–कसलाई धम्की दिएका थिए र कति चन्दा असुल गरिरहेका थिए भन्ने अनुसन्धान भइरहेको छ ।’

पक्राउ पर्नेमा पोखरा–१२ बस्ने ३४ वर्षीय ललितसँगै शितलादेवी बस्ने २६ वर्षीय दिपेन्द्र परियार र पोखरा–५ बस्ने २५ वर्षीय संगम थापा रहेको एसपी सिंहले बताएका छन । पक्राउ परेका तिनै जनालाई आइतबार नै म्याद थप गरेर अनुसन्धान थालिरहेको एसपी सिंहले बताए ।

कास्कीको सुरक्षा स्थितिलाई बलियो बनाउन १५ वुँदे कार्ययोजनासहित अपराध नियन्त्रण तथा रोकथामलाई प्राथमिकतामा राखेर प्रहरीले अभियान चलाइरहेको छ । गुण्डागर्दी नियन्त्रणमा शून्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्