भारतबाट फर्केपछी के भने प्रधानमन्त्री ओलीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषयहरु उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् । भारतको तीन दिने राजकीय भ्रमण पुरा गरी आइतबार साँझ काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताएका छन ।
नेपालले वैदेशिक सम्वन्ध मित्रताका आधारमा अघि बढाउन चाहेको, जुन पारस्परिक हित, एकअर्काको सार्वभौमसत्ता, स्वाभिमानको सम्मानका आधारमा हुने भन्दै उनले भारतीय पक्षसँग पनि त्यसरी नै कुरा गरेको बताएका छन । त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका उच्च नेतृत्वले सकारात्मक ढंगले लिएको र स्वागत गरेको प्रधानमन्त्री ओलीले सुनाएका छन ।
आफू जनताको अभिमतलाई बोकेर भारत गएको र त्यसलाई स्वागत गरेको उनले बताए । त्यसअनुसार रक्सौल–काठमाडौं रेलवे लगायतका महत्वपूर्ण सहमति हुनुका साथै सीमा विवाद, डुवान लगायतका समस्याबारे गम्भीर कुरा भएको बताएका छन ।
दुई देशबीच मिल्न नसकेका विषयहरु सम्वादमार्फत समाधान गर्न चाहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तमाम कुरा उठेका छन, सकारात्मक प्रगति भएको छ । जुन कुरा लिखत रुपमा आएको छ, त्यसलाई यसरी नै अगाडि बढाएका छौं ।’
उनले अघि भने, जुन कुरा लिखितमा आएको छैन, त्यसलाई उछाल्ने होइन, समाधान गर्ने दिशामा गम्भीर वार्तातिर लागेको छौं । अबको बाटो गम्भीर वार्तातिर ।’
आफू दिल्लीमा हुँदा नै भारतीय पक्षले सहमति कार्यान्वयन थालेको उत्तराखण्ड भ्रमणका क्रममा थाहा पाएको उनले सुनाएका छन । ‘मैले त्यहाँका मुख्यमन्त्रीसँग कुरा गर्न खोज्दा हामीलाई निर्देशन आएको छ भन्नु भएको छ’ उनले भने ।
आफ्नो भारत भ्रमणले दुई देशबीच विश्वास अभिबृद्धि हुनुका साथै सम्वन्ध थप सुदृढ भएको ओलीले बताएका छन । साथै समानता र आपसी हितमा नेपाल भारत सम्वन्ध अघि बढ्ने विश्वास लिएको प्रधानमन्त्री ओलीको लिखित वक्तव्यमा उल्लेख गरिएको छ ।
अब नेपाल भारत सम्वन्ध कस्तो रहला भन्ने प्रश्नमा उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’ अघि भने, ‘कसैले विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौँ, सकारात्मक ढंगले अघि बढ्छौं ।’
फेसबुकबाट कमेन्ट गर्नुहोस्