करोडौँ ठगेर वडाध्यक्ष फरार, भारतीय भएको खुलासा
कपिलवस्तुको यशोधरा गाउँपालिका–५ का वडाध्यक्ष लईस पठान विरुद्ध विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि उनी फरार भएका छन् । वडाध्यक्ष फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
नागरिकता सिफारिस, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् । पारिवारिक श्रोतका अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् ।
विभिन्न व्यक्तिसंग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।
पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेका छन् ।
फरार वडाध्यक्ष पठान मर्यादापुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिएका छन । वडा अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए । जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।
‘भाका नाघेपछि रकम माग्न जाँदा दिएन, दिएको चेक समेत बाउन्स भयो’ ऋण लिएको काजग देखाउँदै उनले भने । आफुले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७४ साल साउन १२ गते उजुरी दिएपनि हाल सम्म कारवाही नभएको बताएका छन ।
यसै गरि रुपन्देही गैडहवा गाउँपालिका ६ सूर्यपुराका चन्द्रभान बढई संग ३५ लाख रुपैयाँ ठगि गरेको उजुरी समेत परेको छ । उजुरीमा पठानले यशोधरा गाउँपालिका ५ कचरीहवामा ३ विगाहा पक्की जग्गा देखाएर नक्कली लालपूर्जा बनाई ३५ लाख लिएर गएको र हाल सम्म बेपत्ता भएको उल्लेख छ ।
विभिन्न उजुरी तथा मुद्धा परेर वडा अध्यक्ष फरार भएपछि अहिले वडाको सम्पूर्ण विकासे काम ठप्प भएको छ । वडा सदस्य अजय कुमार मिश्राले वडा स्तरीय २० भन्दा बढि पूर्वाधार योजना अलपत्र परेको बताएका छन । उनले भने–‘अब ३ महिना मात्र बाँकी छ, १ करोड बढिको योजना अझै सुरु हुन सकेको छैन ।’
बहुमत वडा सदस्यहरुले आफुलाई कार्यवाहकको जिम्मेवारी दिएपछि सीमापारी बसेको वडा अध्यक्षले सचिव मार्फत काम अघि बढाउन नदिएको आरोप मिश्राको छ । वडासचिवले अहिले पनि वडाका अधिकांश सिफारिश तथा कामहरु भारतमा गई वडाअध्यक्षको हस्ताक्षर गराउने अवैध कार्य गरेको अर्का वडा सदस्य मुनेश्वर यादवको भनाई छ ।
वडा अध्यक्ष लईस पठान विरुद्ध जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयमा दोहोरो नागरिकता लिएको भन्ने उजुरी समेत परेको छ । उजुरीकर्ता इसहार खाँका अनुसार उनी भारतीय नागरिक भएको र उनले किर्ते गरि नेपाली नागरिकता लिएको हुँदा नागरिकता खारेजको माग गरेका छन् ।
भारतीय आधारकार्ड तथा भोटरआईडीमा लईस पठानको नाम नईम खाँन रहेको र उनको ठेगाना सीमावर्ती गाउँ शोहरतगढ भएको बताइएको छ । भारतीय प्रमाणपत्रहरुमा नाम थर, बाबुको नाम र ठेगाना फरक रहेपनि तस्वीर भने हुबहु मेल खाने निवेदक इसहारको दाबी छ ।
वडा अध्यक्ष विरुद्ध तमाम ठगि, किर्ते, चेक अनादर र दोहोरो नागरिकता सम्बन्धी उजुरी पर्दा समेत प्रहरीले चासो नदिएको पीडितहरुको आरोप छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले भने ठाडो उजुरीहरु दर्ता भएको र छलफलको लागि लईस पठानलाई बोलाउदा नआएको जानकारी दिएको छ । पठान नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्