सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फेसबुकको डाटा लिकको जानकारी प्रयोगकर्ताले पाउने

फेसबुक प्रयोगकर्ताले अब आफ्नो अकाउन्टको डाटा लिक भएमा त्यसको जानकारी प्राप्त गर्ने भएका छन् । फेसबुकले प्रयोगकर्तालाई उनीहरुको डाटा लिक भएको अवस्थामा जानकारी उपलब्ध गराउने घोषणा गरेको हो ।

क्याम्ब्रिज एनालिटिका काण्डपश्चात् फेसबुकले यस्तो कदम चालेको हो । करीब ८ करोड ७० लाख प्रयोगकर्ता, जसको डाटा सम्भवतः क्याम्ब्रिज एनालिटिकासँग शेयर भएको छ, उनीहरुलाई एक विस्तृत सन्देश तथा न्यूज फिड उपलब्ध गराइनेछ ।

फेसबुकका अनुसार डाटा लिकबाट प्रभावित सबैभन्दा धेरै प्रयोगकर्ता अमेरिकाका रहेका छन, जसको संख्या ७ करोड रहेको छ । यद्यपि फिलिपिन्स, इण्डोनेसिया तथा बेलायतका पनि १०/१० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ता डाटा लिकको मारमा परेका छन् ।

फेसबुकले अब डाटा लिकबाट प्रभावित प्रयोगकर्तासँगै सबै २.२ अर्ब फेसबुक प्रयोगकर्तालाई प्रोटेक्टिंग योर इन्फर्मेसन नामक एक सन्देश एउटा लिंकसँगै पठाउनेछ । त्यसमार्फत प्रयोगकर्ताले कुन एप प्रयोग गर्दछन् र ती एपमा के जानकारी शेयर गरिएको छ भन्ने जानकारी प्राप्त हुनेछ ।

प्रयोगकर्ताले अलग अलग एपलाई बन्द पनि गर्न सक्दछन् वा तेश्रो पक्षले दखल पार्ने सम्भावनालाई रोक्नका लागि पूर्ण रुपमा एपलाई बन्द गर्न सक्दछन् ता की प्रयोगकर्तासँग सम्बन्धित कुनैपनि जानकारीमाथि कसैको पहुँच सम्भव नहोस् ।

स्मरणरहोस् विश्वमा हालै सार्वजनिक फेसबुक डाटा लिकबाट करीब ८ करोड ७० लाख प्रयोगकर्ता प्रभावित भएका छन् । पहिले ५ करोड प्रयोगकर्ता प्रभावित भएको अनुमान गरिएको थियो । फेसबुकले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा धेरै ७ करोड प्रयोगकर्ता यसबाट प्रभावित भएका छन् । बेलायत दोश्रो स्थानमा छ ।

प्रयोगकर्ताको डाटाको अनाधिकृत उपयोग तथा डाटा लिकका विषयमा फेसबुकको तिव्र आलोचना भएपछि फेसबुकका प्रमुख मार्क जुकरबर्गले डाटा सेक्योरिटीका लागि विभिन्न कदम उठाउन लागिएको बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्