सर्वेन्द्र खनाल प्रहरी आईजीपी, सशस्त्रमा शैलेन्द्र
नेपाली फुटवलको म्याच फिक्सिङको पर्दाफाँसदेखी गुण्डानाइके घैँटेको इन्काउण्टर लगायतमा कमाण्ड सम्हालेका सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । साथै सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी सर्बेन्द्र खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए ।
डीआईजीमा बढुवा भएको ८ महिना मात्र भएकाले नयाँ कार्यसम्पादन मूल्यांकन समेत तयार हुन सकेको थिएन । प्रहरी नियमावलीमा एक वर्षको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था छ ।
उता सशस्त्र प्रहरीको नेतृत्व शैलेन्द्र खनाललाई सुम्पने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सशस्त्रको आईजीपीका लागि खनालसँगै पुष्पराम केसी दौडमा थिए ।
बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामवहादुर थापा बादलसँग आईजीपी नियुक्तिबारे परामर्श गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्