सर्वेन्द्र आईजीपी भएपछी रमेश खरेलको राजीनामा
सहब्याची सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी पदमा नियुक्त भएपछी दाबेदार मानिएका डिआईजी रमेश खरेलले आज राजीनामा दिने बताएका छन । आईजीपी हुन नपाएपछी असन्तुष्टी जनाउँदै डिआईजी खरेलले राजीनामा दिने भएका हुन ।
आफ्नो राजीनामाबारे पुष्टि गर्दै डिआईजी खरेलले भनेका छन–‘आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९ वर्ष नेपाल प्रहरीको सेवा गरेँ । भोलि (बुधबार)देखि बिदा हुँदै छु ।’
आफूले अवसर नपाउनासाथ सार्वजनिक रूपमा असन्तुष्ट व्यक्त गर्ने, अदालत जाने र राजीनामा दिने जस्ता प्रचलनले फौजमा कस्तो असर गर्ला भन्ने जिज्ञासालाई उनले राजनितिक भागबण्डाको उपज भएको बताएका छन ।
खरेलले भनेका छन–‘पद्धति बसाएर निर्णय गर्नुपर्छ । भागबन्डा नहुने भए मात्र प्रहरीभित्र पनि असल संस्कार बस्न सक्छ । म भलिबल खेलाडीका रूपमा प्रहरी जवान भई यो संगठनमा छिरेको हुँ । प्रहरी जवानकै रूपमा प्रवेश गर्दा पनि म एक दिन शीर्षस्थ स्थानबाट नेपाल प्रहरीलाई हाँक्छु भन्ने सपना देखेको थिएँ । त्यही सपना पूरा गर्न मैले जानाजान गल्ती कहिल्यै गरिनँ । तर, त्यो अवसर पाइनँ । हीन भावना बोकेर बसेँ भने पनि संगठनलाई शतप्रतिशत नतिजा दिन सक्दिनँ । त्यसैले बिदा हुने निर्णय गरेको छु ।’
सरकारले कसै न कसैलाई जिम्मेवारी दिनुपथ्र्यो, एकजनालाई दियो । तपाईंप्रति के अन्याय भयो ? भन्ने प्रश्नमा उनले भनेका छन्–‘म संगठनप्रति आभारी छु । आज जे छु त्यो नेपाल प्रहरीको कारण छु । निर्णय गर्ने जिम्मा सरकारको हो । सरकारप्रति गुनासो छैन । उसलाई ठीक लागेको निर्णय गर्यो होला, बाँकी काम मेरो विवेकको हो । म राजीनामा दिन्छु ।’
खरेलले योग्य सबैले आफुलाई दाबेदार ठान्ने बताउँदै अगाडी भने–‘मैले पनि ठानेँ, के बिराएँ । प्रमाण पेस गर्न सक्दिनँ । मूल्यांकन अरुले गर्ने हो ।’ राजिनामा गर्ने निर्णय आफ्नो अन्तिम भएको र यसबारे कुनै पुर्नविचार नगर्ने उनले बताएका छन । उनले भनेका छन–‘यो रमेश खरेलको बोली हो । बुझ्नुस् फाइनल डिसिजन हो ।’
राजिनामापछीको जीवनका बारेमा आफुले नसोचेको बताउँदै उनले जहाँ भएपनि परिवार र राष्ट्रका लागी काम गर्ने बताएका छन । राजनितिमा लाग्ने बिषयमा भने उनले खासै चासो देखाएका छैनन् । उनले भने–‘मेरो स्वभाव राजनीति सुहाउँदो छैन । तर, गर्दैगर्दिनँ भनेर कसम किन खानू ?’
फेसबुकबाट कमेन्ट गर्नुहोस्