सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिरियाका कारण अमेरिका र रुस युद्धको अवस्थामा

संयुक्त राष्ट्र संघका लागि रूसी दूत वसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा हमला गरेमा रूस र अमेरिकाबीच युद्ध निम्तिने चेतावनी दिएका छन् । उनल यो सम्भावना बढ्दै गएको भन्दै अमेरिकासँग हुने कुनै पनि तनावको अवस्थालाई नकार्न नसकिने पनि स्पष्टिकरण दिएका छन् ।

नेभेन्जियाले अमेरिका र उसका मित्र देशमाथि आफ्नो आक्रामक नीतिका कारण अन्तरराष्ट्रिय शान्तिलाई खतरामा पारिरहेको पनि आरोप लगाएका छन् । उनले अहिलेको अवस्थालाई एकदमै खतरानाकको संज्ञा दिएका छन् ।

अबको केही घण्टामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सेली राष्ट्रपति इम्यानुएल मैक्रोन र ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मेसँग कुरा गर्दैछन् । विद्रोही गुटको कब्जा रहेको इलाकामा भएको रसायन हमलाको जवाफ कसरी दिने भन्नेबारे तीन देशका नेताबीच वार्ता हुने बताइएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोले सिरियाली सरकारले विद्रोही नियन्त्रित इलाकामा सिरियाली सरकारीपक्षबाट रासायनिक हतियारको प्रयोग गरी आक्रमण गरेको प्रमाण आफूहरुसँग रहेको बताएका छन् ।

तीन देशका नेताको भेटबाट विद्रोही नियन्त्रित इलाकामा भएको रासायनिक हमलाको जवाफ दिने या नदिने कुराको निचोड निकालिनेछ । समाचार अनुसार अमेरिकी अधिकारीहरुले डूमामा पीडितको रगत र पिशावका नमुना लिएर गरिएको जाँचबाट क्लोरीन र एक नर्भ एजेन्ट पाइएको थियो ।

समाचार अनुसार यसविरुद्ध पश्चिमा देशहरु मिसाइल हमलाको तयारीमा छन् । रूसले यही कदमको विरोध गरेको हो । रूसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले पहिले पनि यदि पश्चिमा देशहरुले यस्तो कदम चाले भने युद्धबाट केही गरी रोक्न नसकिने बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ अप्रिलमा रूसलाई आफ्नो मित्र सिरियामा मिसाइल हान्न तयार रहन चेतावनी दिएका थिए । त्यसपछि ट्रम्पले ट्विट गर्दै सिरियामाथि हमला हुने निश्चित भएको तर कहिले र कतिखेर भन्ने कुराको टुंगो नभएको बताएका थिए ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्