सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

सिरियामा अमेरिकी हमला, रुसले खसाल्दीयो मिसाईल

अमेरिका र उसका सैन्य सहयोगी देश ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरेका छन् । संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको आरोपित रासायनिक हमलाको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले हमलामा कम्तीमा तीन ठाउँलाई निसाना बनाइएको बताएका छन् । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार राजधानी दमास्कस र आसपासका क्षेत्रमा विस्फोटका ठूला आवाज सुनिएका छन् । आकाशमा धुवाँको मुस्लो देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमला गर्न लागिएको घोषणा गर्दै एउटा वक्तव्य जारी गरेका छन् । ट्रम्पले सिरियाली रासायनिक अस्त्रहरू भएका स्थानहरूमा ब्रिटेन र फ्रान्सको सहकार्यमा सैन्य हमला गर्नका लागि आफूले अनुमोदन गरेको बताएका छन् ।

ट्रम्पले सिरियाली सरकारले रासायनिक अस्त्रको प्रयोग नरोकेसम्म अमेरिका र उसका साझेदार मुलुकहरूले कारबाही जारी राख्ने बताएका छन् । ट्रम्पले रासायनिक हमलाका लागि रुस प्रत्यक्ष रूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।

सिरियाली रासायनिक अस्त्रहरू निर्मूल पार्ने सन् २०१३ को वाचा पूरा गर्न रुस विफल भएको समेत ट्रम्पले बताएका छन । यसअघि अमेरिकाले सिरियाको पूर्वी गुटामा गरिएको शंकास्पद रासायनिक हमलामा सिरियाली सरकारको हात रहेको र त्यसलाई रोक्न रुसले केही पनि नगरेको आफूसँग प्रमाण रहेको दावी गरेको थियो । तर, सिरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।

रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ । उसले हमलालाई ब्रिटेनले उक्साउनका लागि प्रयोग गरिरहेको आरोप लगाएको छ । तर, यो आरोप लण्डनस्थित ब्रिटिश सरकारले सशक्त रूपमा अस्वीकार गरेको छ । सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र खसालिदिएको जनाएको छ ।

ब्रिटेनकी प्रधानमन्त्री टरिजा फौज प्रयोग गर्नुबाहेक अरू कुनै व्यवहारिक विकल्प नभएको भन्दै कारबाहीमा ब्रिटेन संलग्न भएको पुष्टि गरेकी छन् । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोंले रासायनिक अस्त्रहरू सामूहिक सुरक्षाका लागि खतरा भएको बताएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्