सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

अनपढ भन्दै निकालेपछी फुलमती माईतिमा

fulmati-and-mamata-yadav

ठ्याक्कै १२ बर्ष भयो फूलमती यादवको विहे भएको । फुलमती हाल दुई वर्षीय छोरी ममतासहित कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा रहेको माईतिघरमा बस्दै आएकी छिन् । सामाजिक परम्परा अनुसार फुलमतीको सानैमा बिहे भयो र पछि गौना भएको हो ।

मधेसमा सानैमा विहे गरे पुण्य प्राप्त हुन्छ भन्दै सानैमा विहे गरिदिने अनि केही वर्षपछी गौना गर्ने चलन रहेको छ । फुलमतीको विवाह शिजराज नगरपालिक–१३, विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।

पति बब्बु यादव पढेलेखका छन् तर फुलमती निरक्षर छिन । बब्बु यादव र परिवारले अशिक्षित भन्दै बाह्र वर्षअघि विवाह गरेर ल्याएकी बुहारीलाई हेयका दुष्टिले हेरेको फूलमती बताउँछिन् । उनका पति बब्बु यादव बैदेशिक रोजगारीको सीलसीलामा दुवई जानेआउने गर्छन ।

वैदेशिक रोजगारीबाट आएका समयमा फूलमतीका दाइ प्रभु यादवले बहिनीलाई पनि सँगै लान आग्रह नगरेका होइनन् । तर बब्बुले लेखपढ गरेकी छैन भन्दै वैदेशिक रोजगारीमा लान मात्र होइन घर परिवारमै राख्न समेत अस्विकार गर्दैै आएका छन् ।

विवाह गर्दा मागेजति दाइजो माइतीले दिएको फूलमतीले बताइन् । उनले भनिन–‘विवाहमा दाइजो पनि माइतीले दिएका हुन, तर अहिले मलाई घरमा बस्न दिएका छैनन, म वेसहारा बनेँ, मलाई कसले न्याय दिलाइ दिन्छ ?’

उसो त फूलमतीका दाई प्रभु यादवले महिला हक अधिकारको पक्षमा काम गर्ने संस्थाहरुमा बहिनीको विषयमा जानकारी नगराएका होइनन् । तर, कोही उनको पक्षमा बोल्न तयार भएनन् ।

फुलमतीको माईति गाउँ खरेन्द्रपुरका सोमई धोबी भन्छन–‘फुलमतीको बारेमा तीन पटक वडा प्रहरी कार्यालय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैले घर लैजान्छु भन्दै उनका श्रीमान बब्बुले सहमति गरे ।

घर गएको केही दिनमै घरमा बस्न नसक्ने वातावरण बनाइयो र पुन; माइतीको शरणमा पुगिन फुलमती । त्यसपछी आफ्नो घर फर्कने फुलमतीको चाहना अधुरै बनेको छ । बब्बुले अर्को विवाह गर्न लागेका कारण आफ्नी बहिनीलाई हेला गरेको माईती पक्षको आरोप छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्