सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

छोरी र ज्वाईँलाई खुशि पार्न हेलिकप्टरमा विदाई

सामान्य आर्थिक अवस्था र समाजमा शिक्षित भनेर चिनिने नवलपरासीको एक परिवारले छोरीज्वाइँको खुसीका लागि दुलाहलाई हेलिकप्टर चार्टर गरेर घर पठाएका छन् । नवलपरासी, रुपन्देही र कपिलवस्तुमा प्रेमचन्द्र गुप्ता भनेपछि धेरैले चिन्ने नाम हो ।

उनी आफैं किसान आन्दोलनका सामाजिक अभियन्ता पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका गुप्ताका ४ वटा छोरी र २ वटा छोरा छन् । स्नातकोत्तर दोस्रो वर्षमा अध्ययरत प्रेमचन्द्रकी साहिली छोरी कान्तिको विवाहले यहाँ निकै चर्चा पाएको छ ।

आफ्नी साहिली छोरी कान्तिको बिहे शुक्रबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका चन्द्रकेश गुप्तासँग गराइदिएका छन् । तराइमा सामान्यत; दुलाहले केटी पक्षको मर्का पर्ने गरी दाइजो माग्ने चलन कायमै छ । तर, दाइजोविहीन भनिएको ती दुइ गुप्ता परिवारको विवाहले यो क्षेत्रमा हलचल नै ल्याइदिएको छ ।

चन्द्रकेश गुप्ता बेहुलीको घरमा कारमा आए र दुलही लिएर फर्किने बेलामा श्री एयरलाइन्सको हेलीकप्टरमा फर्किए । दुलाहको घरबाट २ सय जन्तीसहित दुलहीको घरमा आएका चन्द्रकेशका तिनै शिक्षित ससुरा प्रेमचन्द्रले छोरीज्वाइँलाई ‘सरप्राइज’ दिन भन्दै फर्किने बेलामा हेलिकप्टरमा पठाइदिएका हुन ।

‘उहाँहरुको केही पनि माग थिएन, दुबैजना खुसी रहुन् भनेर हेलिकप्टर चार्टर गरेर पठाइदिए’ प्रेमचन्द्रले भने, ’बिहेमा धेरै दहेज माग्ने चलन छ । मेरा ज्वाइँले त्यस्तो कुनै माग नराखेकाले सरप्राइज दिन हेलिकप्टरमा पठाएँ ।‘

दुलाहका मामा कृष्ण चन्द्रले हेलीकप्टर चढ्ने दुलाहाको कुनै माग नभए पनि ससुरालबाट त्यस्तो व्यवस्था गरिएको थाहा पाएर आफू आश्चर्यमा परेको सुनाएका छन । पाँच सिटे हेलीकप्टरमा दुलाह, दुलही र लोकन्ते बसेर दुलाहाको घरमा गएका थिए । दुलाह पक्षबाट १५ वटा गाडीमा जन्ती आएका थिए ।

प्रतापपुर गाउँपालिकास्थित त्रिभुवन उच्च मावि बेलाटारीको चौरमा हेलिकप्टर अवतरण हुँदा स्थानीयहरुको भीड लागेको थियो । दुलही पक्षले हेलिकप्टर चार्टर गरेबापत ३ लाख ४० हजार अग्रिम बुझाएको थियो । गाउँमा हार्डवेयर पसल सञ्चालन गरेका चन्द्रकेशले बिबाहका लागि आफूले एक महिनाअघि नै कार किनेको र आफ्नो त्यस्तो कुनै माग नभएको दाबी गरेका छन ।

दुलाह चन्द्रकेशले भने–‘मेरो कुनै पनि माग थिएन हेलीकप्टर ल्याइसकेपछि जान्न भन्नु भएन’ हाँस्दै उनले भने ‘यो पनि मेरा लागि नयाँ अनुभव हुने भयो ।’ जन्तीको लस्करसहित दुलहीको घरमा आएका दुलाहलाई हेलिकप्टर बसेकै विद्यालयबाट हात्तीमा चढाएर बिहेको जग्गेसम्म लगिएको थियो ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS