अब एउटा गाडी पनि फर्मका रुपमा दर्ता गर्न मिल्ने
समिति र संघका नाममा यातायात व्यवसायीले सिन्डिकेट खडा गरी यातायात क्षेत्रमा गर्दै आएको मनपरी ध्वस्त पार्न सरकारले प्रोप्राइटरी फर्ममा पनि सार्वजनिक सवारी दर्ता गर्ने भएको छ । सरकारको यो निर्णय अनुसार अब एउटै सवारी पनि फर्ममा दर्ता गरेर पञ्जीकरण गर्न सकिनेछ ।
जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएका यातायात समितिहरु दर्ता र नविकरण नगर्ने सरकारी निर्णयपछि यातायात व्यवसायीहरु कम्पनी ऐनअनुसार दर्ता हुनुपर्ने भयो । तर, कम्पनीमा जान ५ वटा सार्वजनिक सवारी हुनुपर्छ ।
यसले एक–दुई वटा सवारी भएका साना व्यवसायीहरु मारमा परेको गुनासो उनीहरुको थियो । शुक्रबार गृहमन्त्रीको नेतृत्वमा भएको बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवसायी दर्ता हुन कम्तीमा ५ वटा सवारी हुनुपर्ने प्रावधान हटाएर एकमा झार्ने जानकारी दिएका थिए ।
अब त्यसअनुरुप कानुन संशोधन गरिनेछ । तर, समितिहरु नवीकरण नगर्ने र कम्पनी वा फर्ममा दर्ता भएका कम्पनीलाई मात्र रुट इजाजत दिने निर्णयबाट पछि नहट्ने सरकारले अडान दोहोर्याएको छ ।
यातायातमन्त्री महासेठले यातायात व्यवसायीले उठाएका बीमा लगायतका जायज मागहरु सम्बोधन गर्न सकिने बताएका छन् । व्यवसायीका समस्या समाधानका लागि सरकारले सहजकर्ताको भूमिका निभाउने भएपनि सिन्डिकेट अन्त्य गर्ने गरी भएका निर्णयमा पुनर्विचार गर्न नसकिने उनले बताएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्