सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

नेपाल आएका मोदीले के–के भने, के–के गरे आज ?

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान जनकपुर उत्रिएका मोदी जानकी मन्दिरको पुजापाठ र नागरिक अभिनन्दनपछि अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

जनकपुरबाट एअर इन्डियाको जहाज चढेर मोदी काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका थिए । विमानस्थलमा उनलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । विमानस्थलबाट मोदी चुच्चेपाटीस्थित हायात होटल गएका थिए ।

होटलमा केहीबेर आराम गरेपछि मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ रनर प्रदान गरिएको थियो । मोदीको सम्मानका लागी आयोजना गरिएको गार्ड अफ रनरमा नेपाली सेनाको एक टुकुडीले २१ तोपको सलामी दिएको थियो ।

टुँडिखेलमा गार्ड अफ अनरको सम्मान पाउने उनी दोस्रो विदेशी प्रधानमन्त्री हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीलाई गत फागुन २१ गते ‘गार्ड अफ अनर’को सम्मान दिइएको थियो ।

गार्ड अफ अनर लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट गरेका छन । भेटवार्तामा दुई देशबिचको आपसी सम्बन्ध र सहकार्यका बिषयमा कुराकानी भएको उपराष्ट्रपती कार्यालय स्रोतले जनाएको छ । उपराष्ट्रपति पुनले कुराकानीकै क्रममा भारतीय प्रधानमन्त्री मोदीलाई मुस्ताङको चिया खाएर आउन आग्रह गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीसँग पनि भेटवार्ता गरेका छन । भेटघाटका क्रममा दुई देशको आपसी सम्बन्धलाई अँझ उचाईमा पुर्याउने बिषयमा छलफल भएको भारती विदेश मन्त्रालयले जनाएको छ ।

अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच होटल द्वारीकाजमा एक्लाएक्लै वार्ता चलिरहेको छ । दुई प्रधानमन्त्रीबीच एक्लाएक्लै वार्ता सकिएपछी दुई देशबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ ।

दुई देशबीचको वार्ता सकिएपछी होटल द्वारीकाजबाटै दुई देशका प्रधानमन्त्रीले रिमोट थिचेर संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरुण तेस्रोको संयुक्त रुपमा सिलान्यास गर्नेछन । त्यसपछी मोदीले नेपालका पुर्व प्रधानमन्त्रीहरुसँग पनि भेटघाट गर्दैछन ।

यसअघि बिहान जनकपुरको नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै मोदीले नेपाल बिना भारतको इतिहास, आस्था र विश्वास अधुरो हुने बताएका थिए । सम्बोधनमा मोदीले भनेका छन–‘नेपाल बिना भारतको आस्था अधुरो हुन्छ, विश्वास अधुरो हुन्छ र इतिहास अधुरो हुन्छ,’ मोदीले भने, ‘नेपालबिना भारतका धाम पनि अधुरा हुन्छन, राम पनि अधुरा हुन्छन् ।’

सम्बोधनको सुरूमा हिन्दीमा बोलेका मोदीले केहीबेर मैथिलीमा बोलेका थिए । सम्बोधनका क्रममा उनले नेपाली भाषामा पनि बोलेका थिए । सुरुमा उनले सन् २०१४ मा आउँदा पनि आफूले संसदमा छिटै जनकपुर आउँछु भनेको उल्लेख गर्दै ढिला भएकोमा क्षमा मागेका थिए ।

‘म त्यतिबेला नै आउन चाहन्थें, तर विभिन्न कारणले आउन पाइनँ । ढिला भएकोमा म क्षमा चाहन्छु,’ मोदीले भने, ‘जानकी माताको दर्शन गर्ने मेरो कामना पूरा हुँदा आज गौरवान्तित भएको छु।’ उनले यसपालि आफू प्रधानमन्त्रीका रूपमा नभई प्रधान तीर्थयात्रीका रूपमा नेपाल भ्रमणमा आएको बताएका छन ।

४५ मिनेट लामो भाषणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतका सुख दुःख साझा भएको बताएका थिए । मोदीले भने–‘हाम्रो आशा पनि समान छ, सपना पनि समान छ, हाम्रो मन पनि समान छ, मन्दिर पनि समान छ ।’

उनले नेपाल भारतको सम्बन्ध कुनै राजनीतिका आधारमा नभई देव नीतिमा आधारित भएको बताएका थिए । मोदीले दुबै देशले एकअर्कालाई संकट पर्दा मिलेर सामना गरेको समेत उल्लेख गर्न भ्याएका थिए ।

मोदीले भनेका छन–‘जो मित्रको दुःखमा दुखी हुँदैन, उसलाई देख्दा पाप लाग्छ, आफ्नो दुःख पहाड जत्रो छ भने पनि महत्व नदेऊ तर मित्रको सानो दुःखलाई पनि पर्वत जत्रो मानेर जे गर्नु सकिन्छ, त्यो गर्नुपर्छ ।’

उनले नेपाल र भारत हिमाल, नदी र तराईका फाँटले जोडिएकोमा अब राजमार्ग, सूचना प्रविधि, प्रसारण लाइन, रेल, हवाइ सेवा र जलमार्गबाट जोडिनु पर्ने बताएका थिए । मोदीले अगाडी भनेका छन–‘यी सँगै अब हामी अन्तरिक्षमा पनि आपसमा जोडिनुर्छ ।’

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीले अधिकांश समय नेपाल र नेपालीको प्रसंशा गर्न र दुई देशबीचको आपसी सम्बन्धबारे चर्चा गर्न खर्चिए पनि तीन बर्ष अघि लगाईएको नाकाबन्दीबारे एक शब्द बोलेका छैनन् । नाकाबन्दीकै कारण आम नेपालीले मोदीको भ्रमणलाई मनले स्वीकार गरेका छैनन ।

सडक र सामाजीक सञ्जालहरुमा भारतीय प्रधानमन्त्री मोदीले नाकाबन्दी लगाएकोबारे कम्तीमा माफी माग्नुपर्ने खालको आवाजहरु निस्किएका छन । नाकाबन्दीबारे मोदीले केही न केही बोल्छन भन्ने धेरैको अपेक्षा थियो । सम्भवत; मोदी नाकाबन्दीबारे एक शब्द नबोली भोली मुक्तिनाथ दर्शनपछी स्वदेश फर्कनेछन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS