सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

नयाँ हवाई रुट दिन भारतले किन गर्दैछ आनाकानी ?

नेपाल र भारतका प्रधानमन्त्रीहरूले नेपाल प्रवेश गर्ने विमानहरूलाई नयाँ हवाई मार्ग खुला गर्नका लागि काम अघि बढाउन आ–आफ्ना देशका अधिकारीलाई निर्देशन दिएका छन् । नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट पनि अन्तराष्ट्रिय विमानहरू नेपाल प्रवेश गर्न अनुमति दिन भारतसँग माग गरेको अधिकारीहरूले बताएका छन् ।

यसअघि लामो समयदेखि नेपालले यसबारे भारतसामु कुरा राख्दै आएको भए पनि भारतले रुट अनुमति दिन मानेको थिएन । ढिलै भए पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा जारी १६ बुँदे प्रेस वक्तव्यमा यसबारे छलफल अघि बढाउन निर्देशन दिएका छन् ।

भैरहवा, पोखरा र निजगढमा निर्माण हुन लागेका अन्तराष्ट्रिय विमानस्थलमा विदेशबाट आउने जहाजहरू अवतरण गर्न यी मार्गबाट छोटो दूरी पर्ने ठानिएको छ । निजगढमा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थललाई त भारतले थप रूट नदिए गाह्रो नै पर्ने जानकारहरू बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चार वर्षअघिको नेपाल भ्रमणका बेला पनि नेपाल भित्रिने विमानलाई थप नयाँ प्रवेश विन्दु उपलब्ध गराउनुपर्ने विषय उठाइएको थियो । मोदीको पछिल्लो भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले यो विषय फेरि उप्काएका हुन् ।

त्यसबारे संयुक्त पत्रकार सम्मेलनमा उनले भने–“मैले केही समयअघि मात्र गरेको भारत भ्रमणका क्रममा पनि हवाई ट्राफिक सहज बनाउनका लागि थप चार वटा नयाँ हवाई प्रवेश विन्दु उपलब्ध गराउन आग्रह गरेको थिएँ । यस विषयमा भारतले छिट्टै सकारात्मक निर्णय गर्छ भन्ने मेरो अपेक्षा छ ।”

सन् २०१६ को डिसेम्बरमा बसेको सहसचिवस्तरीय बैठक लगत्तै दुवै देशका प्राविधिक समितिको बैठक बस्ने निर्णय भए पनि त्यसो हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई ट्राफिक व्यवस्थापन निर्देशक दिपक बरालले बताए । प्रस्तावित प्रवेश विन्दुले नेपालमा बन्ने नयाँ विमानस्थललाई विशेष फाइदा पुग्ने भए पनि भारतले आनाकानी गरेको बराल बताउँछन् ।

उनले भने, “अहिलेका लागि मात्र होइन भविष्यमा पोखरा, निजगढ र भैरहवामा विमानस्थल बनेपछि छोटो दूरीमा विमानहरू यहाँ आउन सकून् र आर्थिक रूपमा पनि यो किफायत होओस् भनेर हामीले यो मागेको हो । तर भारतबाट नेपालगञ्ज हुँदै जहाजहरू नेपाल आउँदा भारतको एउटा सैनिक अखडा पर्छ र त्यसमाथिबाट जहाज उडाउन दिन उनीहरूले आनाकानी गरेकै हो ।”

नेपालगञ्ज, जनकपुर, भैरहवा र विराटनगरबाट विदेशी विमानहरू नेपाल आउन दिन अनुरोध गरिएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बताएका छन । र, यस विषयमा छिट्टै निर्णय हुने उनको अपेक्षा छ ।

हाल नेपाल भित्रने अधिकांश विमानहरू सिमरा हुँदै आउने गरेको बताइन्छ । तत्कालका लागि नेपालगञ्ज र जनकपुरबाट विमानहरू नेपाल प्रवेश गर्न पाए राहत पुग्ने अधिकारीहरू बताउँछन् ।

हाल सिमरा (रोमियो), मेची (तुम्लिङटार), नुनीम (सगरमाथाबाट पूर्व) को अकाशबाट जहाजहरू नेपाल प्रवेश गर्छन् । चीनबाट नेपाल भित्रिने जहाज भने नुनीम केन्द्र हुँदै नेपाल प्रवेश गर्छन् । नेपालले चीनसँग पनि नयाँ ‘एयर रूट’ लिन छलफल गरिरहेको छ । (बिबिसी)

फेसबुकबाट कमेन्ट गर्नुहोस्