सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

एमाले र माओवादी विघटन, ९ सदस्यीय हाईकमाण्ड

लामो कसरत, चर्चा, मतभेद र प्रतिक्षाका बिच अन्ततः एमाले र माओवादी केन्द्रबिच पार्टी एकता भएको छ । एमाले र माओवादी एकिकरण भएर अब नेपाल कम्युनिस्ट पार्टी भएको छ ।

वाम एकता संयोजन समितिको बिहीबारको बैठकले पार्टी एकताको निर्णय गरेको थियो । त्यसपछि दुवै दलको केन्द्रीय समितिले निर्णय अनुमोदन गर्दै आ–आफ्नो केन्द्रीय समिति भंग गरेका थिए ।

त्यसपछि एकीकृत पार्टीको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो र त्यहाँ केन्द्रीय सदस्यहरुले नयाँ पार्टीको सदस्यको रुपमा सपथ पत्रमा हस्ताक्षर गरेपछि सपथ ग्रहण गरेका थिए । बैठकले पार्टी एकतालाई ऐतिहासिक भनेको छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको अनुसाशन र मर्यादाभित्र बस्न केन्द्रीय सदस्यलाई निर्देशन दिएका थिए । बैठकले पार्टी दर्ताको जिम्मेवारी सुवास नेम्बाङ र देव गुरुङलाई दिएको छ । दुवै पार्टीको नाममा रहेको सम्पत्ति र दायित्व अब नेपाल कम्युनिस्ट पार्टीको हुने निर्णय गरेको छ ।

पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । पार्टी दर्ताका लागि पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।

दुई दलबीच एकीकृत पार्टीेको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति गरेका छन् । तर, निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’ यसअघि नै दर्ता छ । त्यसैले दल दर्ताका क्रममा ‘नेपाल कम्युनिष्ट पार्टी’लाई अण्डरलाइन गरेर निवेदन दिइएको छ ।

पार्टी एकतापछि बनेको नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड गठन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतका अनुसार नारायणकाजी श्रेष्ठलाई प्रवक्ता तोकिएको छ भने विष्णु पौडेल महासचिव बनेका छन् ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

श्रेष्ठलाई पार्टीका निर्णयहरु जानकारी गराउने र पौडेलले संगठनको काम गर्ने जिम्मेवारी दिइएको छ । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS