सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

चाडपर्व समयानुकुल परिभाषित गर्नुपर्छ; प्रधानमन्त्री

pushpakamal-dahal

प्रधानमन्त्री पुष्पकमल दाहालले महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिवर्तनसँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरुलाई पनि पुर्नपरिभाषित र पुनःसंस्कार गर्न जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले हाम्रा मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान संस्कार र प्रवृत्तिहरुको संरक्षण गर्दै त्यसभित्र विद्यमान रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवन पद्धतिमा पुनर्विचार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

विजयादशमी, तिहार, नेपाल संवत, छठ, ल्होसारजस्ता पर्वहरुका आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन भन्दै प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ–“विविधतायुक्त विशेषताहरु बीचको एकता हाम्रो मौलिक आयाम हो र सबै जाति, भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु हाम्रो दायित्व पनि हो ।”

प्रधानमन्त्रीले दाहालले दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताउनुभएको छ । यसलाई अझ विकसित तुल्याएर राष्ट्रिय एकता हाँसिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार भएको प्रधानमन्त्रीको भनाइ रहेको छ ।

देश अब संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै शुभकामना सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ–‘राजनीतिक र सामाजिक परिवर्तन प्राप्तीका लागि हामीले जुन बलिदानी र एकताको प्रदर्शन गर्यौँ, आन्तरिक राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य हाम्रा लागि अनिवार्य भएको छ ।’

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि हाम्रा सामु चुनौतीपूर्ण अवसरका रुपमा उभिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ–‘हाम्रो एकता, सहकार्य र विविधताको स्विकार्यताले चुनौतीलाई अवसरमा बदल्न सकिन्छ र बदल्नुपर्दछ ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्