बढ्दैछन काठमाण्डौमा गर्भपतन गराउने किशोरी
काठमाडौं उपत्यकामा २० वर्ष मुनिका किशोरीले गर्भपतन गराउने क्रम बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म भएका कुल गर्भपतनमध्ये २५ प्रतिशत २० वर्षभन्दा मुनिका किशोरी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
चैत मसान्तसम्म ८ हजार ६ सय ७२ जनाले गर्भपतन गराएकोमा २ हजार १ सय ६५ जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेले बताएका छन । आर्थिक वर्ष २०७३/७४ मा मान्यता प्राप्त संस्थाबाट भएका १३ हजार ५७ गर्भपतनमध्ये ३ हजार १ सय ३३ जना २० वर्ष मुनिका थिए ।
परिवार नियोजनका साधनको प्रयोगमा कमी, अनिच्छित गर्भ लगायतका कारण किशोरीले गर्भपतन गराउने क्रम बढ्दै गएको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले बताएका छन ।
गर्भावस्था र प्रसूतिका क्रममा देखापर्ने जटिलता १५ देखि १९ वर्षका किशोरीको मृत्युको प्रमुख कारण रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । विश्वमा वर्षेनी १५ देखि १९ वर्षका ३९ करोड किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको डब्लुएचओको तथ्याङ्क छ ।









फेसबुकबाट कमेन्ट गर्नुहोस्