सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

आमालाई बोक्सी भन्दै छोराले घरबाट निकालेपछी

हरेक आमाबाबुका लागि उनीहरुका सन्तान बुढेसकालका सहारा मानिन्छन् । तर, ८० वर्षीया वृद्धा खजनीदेवी कारकको हकमा भने यो उक्ति लागु भएन । बृद्धा खजनीदेखी आफ्नै सन्तानबाट प्रताडित बनेकी छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–७ कि खजनीदेवी ६ छोराकी आमा हुन् । तर, तिनै छोराले बुहारीहरुसँग मिलेर उनलाई बोक्सीको आरोप लगाउँदै घरबाट निकालेका छन् । उनी अहिले एउटा सानो झुपडीमा नितान्त एक्लै बस्छिन् । नातिनातिना सम्झिएर कल्पिन्छिन् ।

उनी सकिनसकी आफ्नो लागि खाना पकाउँछिन् । पानीका लागि छोराहरुले झुप्रो नजिकै ट्यूवेल जडान गरिदिएका छन् । आमाको मायाले होइन, पानी लिन आफ्नो आँगनमा नटेकुन् भनेर । उनलाई छोराहरुले आफ्नो आँगन वा आँप बगैंचामा आउनसमेत रोक लगाएका छन ।

खानलाई चाहिँ छोराहरुले पालो लगाई चामल र दाल ल्याइदिने गरेका छन् । बुहारीहरु त उनको नजिक जाँदै जाँदैनन् । नाती नातिनाहरुलाई पनि उनको छेउ पर्न दिइएको छैन ।

केही समयअघि सौतेनीपट्टीको जेठो छोरा धर्मनाथले गालीगलौज र हातपात गरेपछि खजनीदेवी धनुषाको लोहनास्थित माइतीमा गएर केही दिन बसिन् । तर छोराहरुको मायाले धेरै दिन बस्नै सकिनन् । उनी भन्छिन–‘छोराहरुले मलाई जस्तो गरे पनि मलाई उनीहरुको माया लाग्छ ।’

खजनीदेवीको पतिको १० वर्षअघि मृत्यु भएको थियो । पतिको मृत्युपछि छोराहरूले आमालाई पालैपालो आफ्नो घरमा राखेर पाल्दै आएका थिए । केही समयपछि उनकी एक बुहारीको कालगतिले मृत्यु भयो ।

उनको सौतापट्टीका जेठो छोरा धर्मनाथ कारककी श्रीमतीको उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसको केही समयमा खजनीका आफ्नै ६० वर्षीय छोरा रामपुकार कारककी श्रीमतीको पनि मृत्यू भयो ।

लगालग तीन जनाको मृत्यू भएपछि यसपछि कारक परिवार धामी झाँक्रीको चक्करमा लाग्न थाले । झाँक्री गुहार्न भारत पनि पुगे । यसै क्रममा शिवजी कारककी श्रीमतीलाई बोक्सी लागेको एक झाँक्रीले बताए ।

बोक्सीका रुपमा उनले उनै खजनीदेवीलाई औंल्याइदिए । त्यसलाई पत्याउँदै छोराबुहारीले उनलाई घरबाट निकाले र गाउँमा छुट्टै झुपडी बनाएर राखे । पीडितलाई छोराहरूले आफनो घर, परिवारमा आउन दिँदैनन् भने कसैसँग बोल्न र कतै घुम्न जान पनि रोक लगाएको स्थानीय अधिकारकर्मी सुनिल साहले बताएका छन ।

अधिकारकर्मी मनोज साहले भने–‘बृद्धालाई बाँकी जीवन छोरा, बुहारी र नातिनातिनासँगै बाँच्ने इच्छा छ र उनले आफूलाई घरमै स्थापित गराइदिन आग्रह गरेकी ।’ मानव अधिकार संरक्षण केन्द्र सञ्जालका अध्यक्ष समेत रहेका साहले घटना अमानवीय भएकाले तुरुन्त पीडितलाई परिवारमा स्थापित नगराए कारबाही प्रकृयामा जाने बताएका छन् ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्