ग्यालेक्सी नोट सेभेन तत्काल स्विच अफ गर्न अपिल
तपाई सामसुङको ग्यालेक्सी नोट सेभेन चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने तत्काल स्विच अफ गरेर राख्नुहोला । किनकी सामसुङले मर्मतपछि सुरक्षित भनेर बजारमा पठाएका सेटमा समेत आगलागी भएपछि नोट सेभेन तत्कालै स्विच अफ गरेर राख्न प्रयोगकर्तालाई अपिल गरेको छ ।
आफ्ना उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको भन्दै नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक दिनपछि नै सामसुङले एक विज्ञप्ती जारी गर्दै नोट सेभेनको बिक्रि तथा सट्टापट्टा बन्द गर्नका लागि सबै प्रयोगकर्ता तथा बिक्रेताहरुलाई आग्रह गरेको छ ।
सुरक्षित भनिएका नोट सेभेनमा आगो लागेको घटना सार्वजनिक भएपछी कम्पनीले छानविन गर्ने विज्ञप्तीमा जनाएको छ । विज्ञप्तीमा भनिएको छ–‘पूरानो वा पछि साटेको नोट सेभेन जुन भएपनि सबै प्रयोगकर्ताले स्विच अफ गरेर राख्नुहोस् र प्रयोग नगर्नुहोस् ।’
एप्पलको आइफोन सेभेनको प्रतिस्पर्धी ठानिएको ग्यालेक्सी नोट सेभेन सामसुङले गत अगष्टमा सार्वजनिक गरेको थियो । पहिलो आगलागीको घटना सार्वजनिक हुँदा सामसुङले लिथियम आयोन ब्याट्रीको समस्याका कारण चार्ज गर्दा बढि तातेर नोट सेभेनमा आगो लागेको प्रष्टिकरण दिएको थियो ।
गत हप्ता एक अमेरिकी प्रयोगकर्ताले आफ्नो पछिल्लो नोट सेभेनमा समेत आगलागी भएको कुरा सार्वजनिक गरेका थिए । गत बुधबार अमेरिकाकै एक विमानभित्र उडानअघि नोट सेभेनमा आगलागी भएर धुवाँ निस्किँदा उडान नै अबरुद्ध भएको थियो ।
पहिलोपटक आगलागी भएको घटना सार्वजनिक भएपछी सामसुङले सेप्टेम्बरको सुरुमा विश्वका १० देशमा पठाएका २५ लाख नोट सेभेन फिर्ता लिने घोषणा गरेको थियो । ग्यालेक्सी नोट सेभेनमा आगलागी भएको घटनाले सामसुङलाई ठूलो धक्का लागेको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्