सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

किम जोङ र ट्रम्प सिंगापुरमा, भोली हुँदैछ वार्ता

उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने आसन्न ऐतिहासिक भेटघाटको तयारी पूरा भइसकेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग दुई पक्षिय भेटवार्ताका लागि सिंगापुर पुगिसकेका छन् ।

अन्यथा नभए भोली मंगलबारको दिन यो ऐतिहासिक भेटघाट हुनेछ । अमेरिकाले भेटघाट पुर्व उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर यसको बदलामा उत्तर कोरिया के चाहन्छ त्यो स्पष्ट हुन सकेको थिएन ।

अब भने उत्तर कोरियाली नेता किम जोंग उनले डोनाल्ड ट्रम्पसँगको आफ्नो भेटघाटको एजेन्डा केही हदसम्म स्पष्ट पारेका छन् । उनका अनुसार उनी ट्रम्पसँग ‘पूर्णतः शान्ति स्थापित गर्ने तरिका’ बारे कुराकानी गर्नेछन् । किमले संसारभरीको नजर यो भेटघाटमा अडिएकोसमेत बताएका छन् ।

यता ट्रम्पले भने उक्त भेटघाट सकारात्मक हुने महसुस भएको बताएका छन् । उत्तर कोरियाको सरकारी समाचारपत्रमा प्रकाशित एक सम्पादकीयले अमेरिकासँग सामान्य सम्बन्ध स्थापित गर्ने सम्भावनामा चर्चा हुनेछ भनी संकेत दिएको छ ।

सरकारी समाचारपत्र ‘रोडोंग सिनमुन’ ले आफ्नो सम्पादकीयमा लेखेको छ–‘प्योंगयांग अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने दिशामा काम गर्नेछ । पहिले हाम्रो कुनै देशसँगको सम्बन्ध निकै खराब रहेको भएपनि हामी यो मान्यता राख्छौं कि यदि उक्त देशले हाम्रो स्वतन्त्रताको सम्मान गर्छ भने हामीले पनि त्यो देशसँग कुराकानीमार्फत सामान्य सम्बन्ध कायम गर्नुपर्छ ।’

यस्तै, उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएको तर्फबाट जारी गरिएको एक बयान अनुसार दुबै नेता कोरियाली प्रायद्वीपमा निश्चित र लामो समयसम्म स्थापित हुने शान्ती प्रक्रियामाथि कुराकानी गर्नुका साथै कोरियाली प्रायद्वीपको परमाणु निश्शस्त्रीकरण र अन्य साझा मुद्दामा कुराकानी हुनेछ ।

उक्त बयानमा यो एक परिवर्तित युगको सुरुवात भएको बताइएको छ । बीबीसीका उत्तरी अमेरिकाका सम्पादक जोन सोपेलले भने, ‘आज हामी जुन भेटघाटको प्रतिक्षा गरिरहेका छौं । त्यो पारम्परिक राजनीतिक बाटोबाट त कहिले सम्भव नै हुन सक्दैनथ्यो ।’

उनी थप्छन–‘हामी यहाँसम्म यसकारण आइपुगेका छौं किनभने राष्ट्रपति ट्रम्पले पारम्परिक कूटनीतिक तरिकालाई तोडेर नयाँ बाटो अपनाए ।’ जोनका अनुसार अमेरिकी राष्ट्रपतिले उक्त भेटघाटका लागि कुनै तयारी नगरेको बताएका छन् ।

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरण कस्तो प्रकारको होला, यसका लागि कुन प्रक्रियाको पालना गरिनेछ, त्यो अहिलेसम्म तय भएको छैन । यस्तै, यसको बदलामा अमेरिकाले उत्तर कोरियासँग आर्थिक प्रतिबन्ध कति हदसम्म हटाउनेछ र उत्तर कोरियाको सुरक्षाको कस्तो प्रत्यायभूती हुनेछ, यी सबै कुरा अत्यधिक जटिल छन् ।

आइतबार सिंगापुर पुगेपछि दुबै नेता अलग होटलमा बसिरहेका छन् । एकतर्फ जहाँ किम सिंगापुरको पाँचतारे होटल सेन्ट रेजिसमा बसिरहेका छन् भने ट्रम्प त्योभन्दा केही परको सांग्रिला होटलमा बसिरहेका छन् । दुबैको भेट सेनटोसा द्वीपको कपेले होटलमा हुने निश्चित भएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्