सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

काठमाण्डौबाट जापानको यात्रा अब ८ घण्टामा

लामो चर्चा परिचर्चा र प्रतिक्षाका बिच अन्तत; नेपाली ध्वजावाहक विमानले चाँडै काठमाण्डौबाट सिधै जापानमा उडान भर्ने भएका छन । सोमबार नेपाल र जापानका अधिकारीहरुबिच भएको सम्झौता अनुसार अब नेपाली जहाजले जापानका विभिन्न सहरमा उडान भर्न पाउने छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप–सचिव प्रमोद नेपालका अनुसार सम्झौतासँगै नेपाल–जापान तथा जापान–नेपाल सिधा उडानको बाटो खुलेको छ । सम्झौताअनुसार नेपाली जहाजले जापानको हानेदा विमानस्थलबाहेक अन्य सबै विमानस्थलबाट उडान गर्न पाउने भएका छन् ।

नेपाली जहाजले जापानमा सातामा १४ वटा उडान गर्ने पाउनेछन् । यसैगरी सातामा १४ वटा उडानभित्रै रहेर ‘फ्रिडम अफ ट्राफिक राइट’ अन्तर्गत नेपाली जहाजले तीन वटा उडान पनि गर्न पाउने सहमति भएको उपसचिव नेपालले जानकारी दिएका छन ।

यसैगरी जापान र नेपालबीच नागरिक उड्डयन अधिकारअन्तर्गतको पाँचौं स्वतन्त्रता अधिकार क्षेत्रभित्र रहेर पनि उडान गर्न पाउन सहमति भएको छ । साथै जापानी जहाज पनि सोहीअनुरूप नेपालका विमानस्थलमा १४ वटा नै उडान गर्न पाउने सम्झौता भएको छ ।

यसअघि सन् १९९३ मा नेपाल र जापानबीच दुई पक्षीय हवाई सम्झौता भएको थियो । त्यतिबेलाको सम्झौतामा नेपाली जहाजले जापानको ओशाका सहरमा सातामा दुई वटा उडान गर्न पाउने उल्लेख थियो । यसैगरी जापानले पनि नेपालमा सातामा दुई वटै उडान गर्ने पाउने सम्झौतामा उल्लेख थियो ।

पुरानो सम्झौतामा नेपाली जहाज ७२७ र ७५७ सिरिजका बोइङ मात्रै उडान गर्न पाउने उल्लेख थियो । अहिलेको सम्झौतामा सबै प्रकारका जहाजले उडान गर्न पाउने सहमति भएको छ । २५ वर्षअघि नै सम्झौता भए पनि दुवै देशका जहाजले उडान गरेका थिएनन् । पुरानो सम्झौताको पुनरावलोकन गर्दै नयाँ सम्झौता भएको हो ।

जापानसगँको सिधा उडानले नेपालको हवाई क्षेत्रमा सुधार आउने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताएका छन । जापान जाने यात्रुले १२ देखि १६ घण्टा ट्रान्जिट हुँदै जानुपर्ने बाध्यता पनि अब अन्त्य हुने उनको भनाइ छ ।

आठ घण्टामा सिधा उडानमार्फत जापानबाट नेपाल आउन पाउने र जान पाउने भएपछि यात्रुको समय वचत हुने कंसाकारले बताएका छन । हवाई समस्याका कारण नेपाल भ्रमण आउने चाहने जापानीहरू समेत अन्यत्र जाने गरेको अवस्था अन्त्य हुने पनि कंसाकारले दाबी गरेका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्