सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

म्याद गएको जुस बजार पठाउन खोज्दा फन्दामा

पर्सा प्रहरीले वीरगञ्जबाट म्याद गुज्रिएको करिब ५० कार्टुन जुस बजारमा पठाउने तयारी गरिरहेको बेला बरामद गरेको छ । वीरगञ्ज महानगरपलिका वडा नम्बर ५ रेल्वे रोडमा कौशल कुमार श्रीवास्तवले सञ्चालन गरेको र्फमबाट म्याद सकिएको ५० कार्टुन जति जुस बरामद भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज कारागार पछाडि रहेको श्रीवास्तवको नयाँ घरमा म्याद सकिएको जुस ल्याएर नयाँ मिति राखेर बजारमा सप्लाई गर्ने गरेको सूचनाको अधारमा प्रहरीले बुधबार बिहान छापा मारेको थियो ।

पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले भनेका छन–‘कोरियन क्यान जुस हो, पुरानो एक्सपाईरीडेट मेटाएर दुई वर्ष डेट बढाएर बजारमा पठाउने गरिएको रहेछ, ३ हजारभन्दा बढी क्यान बरामद भएको छ । डेट हाल्न प्रयोग गरिने मेसिन, सरकारी कार्यालयका स्ट्याम्प पनि भेटिएका छन् । थप अनुसन्धान गर्दैछौं ।’

‘मेड ईन कोरिया’ लेखिएको डेलोस ब्रान्डका जुसको म्याद २०१८ मार्चमै सकिएको छ । तर त्यहाँ थिनरको प्रयोग गरेर क्यान बोतलको पछाडि रहेको पुरानो मिति मेटाएर प्रिन्ट मेसिनको सहायताले नयाँ मिति थप गर्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले फर्मको रेखदेख गर्ने पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ शीतपुरका ५७ वर्षीय ओम बहादुर कार्की र प्रिन्टिङको काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने मुन्ना भनिने लक्ष्मी साह कानुलाई पक्राउ गरेको छ । उनीहरु दुवैले आफू निर्दोष रहेको बताएका छन् ।

पक्राउ परेका लक्ष्मी साहले श्रीवास्तवको आग्रहमा तीन दिनदेखि प्रिन्टको काम गरेको प्रहरीसँग बताएका छन् । नातामा ज्वाइँ पर्ने श्रीवास्तवको घर आफूले तीन दिनदेखि मात्रै कुरेको र व्यवसायको बारेमा आफूलाई कुनै जानकारी नभएको कार्कीले बताएका छन ।

कार्कीले प्रहरीसंग भनेका छन–‘छोरी ज्वाइँ पोखरा गएका छन, तीन दिन भयो मलाई घर कुर्नु भनेका थिए । मलाई यो व्यवसायको बारेमा केही थाहा छैन । मिस्त्रीहरु आउँछन् काम गर्छन् भनेका थिए,’ उनले भने ‘छोरा छैन, छोरी मात्रै हो, छोरी ज्वाइँले नै फसाउँछन् भने जेलमा गएर बसेर खान्छु ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS