जापान, कोरिया, साउदीमा सिधा हवाई उडान
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले छिट्टै काठमाण्डौ–जापान हवाई उडान सेवा शुरु गर्ने भएको छ । नयाँ विमानको खरिद प्रक्रिया अगाडि बढाएसँगै निगमले नयाँ गन्तव्यका रुपमा जापानमा पुनः सीधा हवाई उडान गर्ने योजना अगाडी सारेको छ ।
निगमका प्रवक्ता रामहरी शर्माका अनुसार वायुसेवा निगमले जापान, साउदी अरेविया, दक्षिण कोरिया, र अष्ट्रेलियामा गन्तव्य विस्तार गर्न लागेको हो । त्यसका लागि निगमले सम्वन्धित देशहरुसँग रिक्वेष्ट फर प्रपोजल (आरएफपी) माग गरेको छ ।
प्रवक्ता रामहरी शर्माले जापान, साउदी अरेविया र दक्षिण कोरियाका लागि लगभग पक्का भइसकेको छ भने अष्ट्रेलियासँग एयर सर्भिस एग्रिमेन्ट (एएसए) हुन बाँकी रहेको छ । नेपाल वायुसेवा निगमको जहाजले जापानमा हप्ताको दुई देखि तीन पटकसम्म उडान गर्ने बताईएको छ ।
त्यसैगरी साउदी अरेवियाको दमाम र रियादमा हप्ताको चार ओटा उडान हुनेछन भने दक्षिण कोरियाको सोलमा हप्ताको दुई देखि तीन पटक सम्म उडान भर्ने निश्चित भएको निगमले जनाएको छ । अष्ट्रेलियामा भने कति पटक उडान हुने भन्ने निश्चित हुन बाँकी रहेको छ ।
निगमका प्रवक्ता रामहरी शर्माका अनुसार अष्ट्रेलियामा एयर सर्भिस एग्रिमेन्टका लागी सरकारले पहल गरिरहेको छ । नयाँ जहाज आइपुग्नु अगावै एग्रिमेन्टको काम सक्ने प्रवक्ता शर्माले बताउनुभयो । सिधा हवाई उडानले अष्ट्रेलियन पर्यटकहरुको संख्या बढ्ने अनुमान गरिएको छ ।
पर्यटनमन्त्री स्तरीय बैठकले गत महिना नयाँ जहाज किन्न चाहिने ऋणका लागि सरकार जमानी बस्ने निर्णय गरेपछि जहाज खरिद प्रक्रिया अगाडी बढेको छ । निगमले खरिद प्रक्रियाका लागी टेण्डर समेत आव्हान गरिसकेको छ । सन् २०१७ को मार्च भित्र ’एयरबस ३३०–२२०’ वाइड बडी ल्याइ सक्ने निगमको तयारी छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्