सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

फ्रान्ससंग हारेपछी अर्जेन्टिना कुम्लो बोकेर फिर्ता

रसियामा जारी २१ औं फिफा विश्वकप फुटबलमा फ्रान्सले क्वार्टर फाइनलमा प्रवेश गरेको छ । विश्वकपको बलियो दाबेदार मानिएको अर्जेन्टिनालाई ४ः३ गोलको अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो ।

फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १–१ गोल गरेका थिए । अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए । पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेको फ्रान्सले शनिबार कजान रंगशालामा १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

केलियन एम्बाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए ।

एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै गोल गरेका थिए । पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लिएको थियो ।

खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाका ग्याबरियल मेकाडोले गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितिमा र्पुयाएका थिए । तर, खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए ।

त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाएका थिए । उनले ६३ औं र ६९ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा र्पुयाएका हुन् ।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४ः३ को स्थितिमा र्पुयाएका थिए । त्यसपछि अर्जेन्टिनाले पाएका केही राम्रा मौकामा गोल गर्न नसक्दा पूर्व उपविजेता अन्तिम १६ बाटै घर फर्किएको छ । योसँगै फ्रान्सले पहिलो पटक अर्जेन्टिनालाई हराएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्