समिक्षा ठकुरीलाई जिउँदै जलाउने फुपु र हजुरआमा
जिउँदै आगो लगाएर जलाईएकी रुपन्देहीको रुद्रपुरकी १६ बर्षिया समीक्षा ठकुरीको घटनाले नयाँ मोड लिएको छ । असार ९ गते बिभत्स तरिकाले जलाईएकी समिक्षा ठकुरीको हत्यामा परिवारकै संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछी घटनाले नयाँ मोड लिएको हो ।
भविश्यमा मोडेल र नर्स बन्ने सपना बुनेकी रुपन्देहीको रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीमाथि शंकास्पद तरिकाले आगलागी भएको थियो । आगोले घाँटीभन्दा तल जलेर गम्भीर घाइते भएकी समीक्षाको असार २० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।
इराकमा रहेकी आमा माया ठकुरीले नेपाल फर्केर समीक्षालाई मार्ने उद्देश्यले घरमा सुतेको बेला मट्टीतेल छर्केर आगो लगाइदिएको दावी गर्दै परिवारकै सदस्यहरुविरुद्ध किटानी जाहेरी दिएपछि घटनाले नयाँ मोड लिएको छ ।
समीक्षाकी आमाले बुबा तेजबहादुर ठकुरी, हजुरआमा हरिकला ठकुरी, फुपूहरु मधु थापा र शोभा रानाविरुद्ध किटानी जाहेरी दिएकी छिन् । तर, अनुसन्धानको मुख्य तीर हजुरआमा हरिमाया ठकुरी र कान्छी फुपू शोभा रानातिर सोझिएको प्रहरी स्रोतले बताएको छ ।
यी दुईजनामाथि दुईपटक सम्म अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको छ । तर, दुई साता बितिसक्दा पनि अनुसन्धान नसकिएको र दोषी पत्ता नलागेको अनि मृतकको दाहसंस्कारसमेत हुन नसकेको भन्दै स्थानीय आमा समूह विरोधमा उत्रिएका छन् ।
घटनाको प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य छिटो बाहिर ल्याउन र पीडितलाई न्याय दिन माग गर्दै आमा समूहहरु आन्दोलित भएका छन् । कञ्चन गाउँपालिकाका ९ वटा आमा समूह, सामुदायिक वन उपभोक्ता र महिला अगुवाले सालझण्डीस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्दै घटनाको सत्य तथ्य छिटो बाहिर ल्याउन माग गरेका छन् ।
समीक्षाको मृत्यु भएको १६ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएको भन्दै उनीहरुले प्रहरीलाई अनुसन्धान प्रभावकारी बनाउन दवाब दिएका हुन् । महिलाहरुले अनुसन्धान फितलो भएको र सत्यतथ्य लुकाउने प्रपञ्च हुनसक्ने भन्दै छिटो भन्दा छिटो दोषी पत्ता लगाउन माग गरेका छन् ।
जलेर घाइते भई उपचारका क्रममा समीक्षाले आफूलाई हजुरआमाले नै यस्तो अवस्थामा र्पुयाएको भनेर आफूलाई भनेको हुँदा घटनामा परिवारकै सदस्यको संलग्नता रहे पनि प्रहरीले कसैको प्रभावमा परेर अनुसन्धानमा ढिलाई गरेको समीक्षाकी सानिमा रचना बुढाथोकीको दाबी छ ।
उनले हजुरआमा र कान्छी फुपूलाई मात्र होइन, घटनाको यथार्थ बाहिर नआउञ्जेल किटानी जाहेरीमा परेका चारैजनालाई अनुसन्धानको दायरामा राख्नुपर्ने माग गरेकी छिन ।
समीक्षा जन्मेको ९ महिनापछि उनका बुबा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएका थिए । दोस्रो बिहे गरेसँगै समीक्षाकी आमामाथि कुटपिट र दुव्र्यवहार हुन थालेपछि सहन नसकेर आमाछोरी माइतीमा बस्दै आएका थिए ।
दुई वर्षअघि आमाले समेत दोस्रो बिहे गरेर गएपछि समीक्षा समस्यामा परिन् । उनी गत कात्तिकदेखि मात्रै आफ्नो बुबाको घरमा बस्न थालेकी हुन् । लामो समय मावलीमा बसेर आफ्नो घरमा बस्न आएसँगै समीक्षामाथि परिवारका सदस्यले राम्रो व्यवहार नगरेको मामा बोम दर्लामीले बताएका छन ।
समीक्षालाई बारम्बार यातना दिने, कुटपिट गर्ने, विद्यालयको शुल्क नदिने र सौतेलो भाइले मार्ने धम्की दिने जस्ता दुब्र्यवहार हुने गरेको दर्लामीको दाबी छ । उनका अनुसार घटना हुनु केही समयअघि पनि समीक्षामाथि निर्घात कुटपिट भई अस्पताल भर्ना गर्नुपरेको थियो ।
उक्त घटना स्थानीय प्रहरी चौकी, गाउँपालिकाको न्यायिक समितिसम्म पुगेर आइन्दा यस्तो नगर्ने सहमतिमा मिलापत्र भएको थियो । आमाले समेत दोस्रो बिहे गरेर गएपछि समीक्षा घर आएर बस्ने थालेकी र अंश दाबी गरेपछि उनलाई हत्या गर्ने योजना अनुसार मट्टीतेल छर्केर आगलागी गराई मृत्युको मुखमा धकेलेको मावली पक्षको आरोप छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्