सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

डरलाग्दो अपराध, विष खुवाएर कारागारभित्रै हत्या

कारागारभित्रै नक्कली कागजपत्र तयार पारी अर्कोको जग्गा बेच्ने र करोडौं रूपैयाँ हात पार्ने योजना बन्छ । अनि जुन व्यक्तिलाई जग्गा बेचिन्छ, त्यही व्यक्तिलाई मार्ने योजना हुन्छ ।

नक्कली जग्गा किन्ने व्यक्तिको हत्या गरियो भने, भोलिका दिनमा दाबी विरोध गर्न कोही आउँदैन र करोडौं रकम हातपर्छ भन्ने योजना बन्छ । नक्कली जग्गा किन्ने व्यक्तिलाई कसरी हत्या गर्ने त्यो योजना पनि बन्छ र अन्तिममा विषादी दिएर हत्या गर्ने योजना तय हुन्छ ।

विषादी पनि तयार हुन्छ, परीक्षण गरिन्छ र त्यही विषादीबाट एक जनाको मृत्यु हुन्छ । यो कथा होइन सत्य घटना हो । घटनाका पात्र हुन ललितपुरस्थित नख्खु कारागारमा रेहका सिरियल किलर अभिषेक राज सिंह ।

उनलाई साथ दिन्छन् बैंकिङ कसुरमा नख्खु कारागारभित्र रहेका अर्का कैदी मनोज कुमार चौरासियाले । नक्कली लालपूर्जा बनाएर सस्तोमा जग्गा बेच्ने र ती जग्गा किन्ने व्यक्तिले किर्ते भएको थाहा पाइ उजुरी गर्लान् भनेर उनैलाई हत्या गर्ने योजना कारागारभित्रै बन्यो । यसको मुख्य योजनाकार सिंह थिए ।

हत्या कसरी गर्ने र प्रहरीलाई कसरी छल्ने ? भन्ने सबै योजना सिंहले मिलाएका थिए । योजना अनुसार विभिन्न वनस्पति प्रयोग गरी मन्द विष बनाउने र हत्या गर्ने योजना तय भयो ।

योजना अनुसार नै सिंहले धुव्रकृष्ण शर्माको सहयोगमा कारागारबाट विष बनाउन आवश्यक वनस्पति मगाए । शर्मा केही समय अगाडि सोही जेलबाट चोरी मुद्दामा धरौटी बुझाएर छुटेका हुन् ।

आवश्यक वनस्पति र केमिकल आएपछि सिंहले कारागारभित्रै मन्द विष बनाए । सिंहले विष तयार पारे । तर, विष त बन्यो अब यसले काम गर्छ कि गर्दैन भनेर परीक्षण कसरी गर्ने ? भनेर समस्या भयो । उनले कारागारमै रहेका कैदी भक्तबहादुर सुनुवारलाई परीक्षण गर्ने योजना बनाए ।

कर्तव्य ज्यान मुद्दाको सजाय भुक्तान गरिरहेका सुनुवारलाई उनले वैशाख १९ गते कारागारभित्र नै बनाएको उक्त विष खानामा मिसाएर दिए । थाहा नै नपाई सुनुवारले विष खाए । विष खाएको केही समयमा नै विषले काम गर्न थाल्यो । सुनुवारले वान्ता गरे र ज्वरो पनि आयो ।

तस्विरःहत्यारा अभिषेकराज सिंह र श्यामस्वेत तस्विरमा मृतक भक्तबहादुर सुनार ।

तत्कालै उनलाई कारागारभित्रै रहेको स्वास्थ्य परीक्षण केन्द्रमा लगियो । समस्या झन जटिल भएपछि उनलाई २० गते वीर अस्पताल भर्ना गराइयो । २२ गते बिहान अस्पतालमै भक्तबहादुरको मृत्यु भयो । तर, भक्तबहादुरले विष खाएको डाक्टरको रिपोर्टमा कतै देखिएन ।

सिंहले स्वास्थ्य रिपोर्टमा समेत नदेखिने किसिमको विष बनाएर खुवाएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानबाट खुल्यो । ब्यूरोका प्रमुख डिआइजी नारायण सिंह खड्काका अनुसार सिंहले बनाएको विष डाक्टरको रिपोर्टमा समेत देखिँदैन ।

मंगलबार पत्रकार सम्मेलनमा डिआइजी खड्काले भने, ‘सिंहले धेरै चलाखी अपनाएका छन, उनले कुन वनस्पति मिसाएर विष बनाए त्यो कुरा खुलाउन मिल्दैन । तर, उनले मिसाएका सबै वनस्पति हुन् ।’

यसरी भयो विष खुवाई हत्या गरिएको घटनाको पर्दाफास
भक्तबहादुर सुनुवारको कारागारभित्र रहस्यमय मृत्यु भएको खबर सञ्चारमाध्यममा आउन थाल्यो । त्यसपछि भक्तबहादुरका दाई रामबहादुरले आफ्नो भाइको हत्या भएको भन्दै गृहमन्त्री रामबहादुर थापालाई जानकारी गराए । उनी नेपाली सेनाका सिटायर्ड कर्मचारी हुन् ।

घटनाको विवरण सुनेपछि गृहमन्त्रीले एउटा उच्चस्तरीय छानबिन आयोग बनाउन निर्देशन दिए । सोही अनुसार पाँच सदस्य छानबिन समिति गठन भयो । घटनाको छानबिन हुदै जाँदा आफैं मृत्यु नभएर हत्या गरिएको खुल्यो ।

घटनाका योजनाकार सिंह आफू ओभानो बन्न मृतक भक्तबहादुरलाई मृत्यु हुनु अगाडि नै एउटा पत्र लेख्न लगाएका थिए । पत्रकार सम्मेलनमा डिआईजी खड्काले घटनाबारे जानकारी दिँदै भने–‘अस्पतालमै हुँदा कारागार प्रशासनको लापरबाहीले आफ्नो मृत्यु भएको भन्दै चिठी लेखेका थिए । त्यो चिठी लेख्ने योजना पनि सिंहको रहेछ ।’

डिआइजी खड्काले अगाडी भने–‘सुनुवारको मृत्यु भए कारागारको लापरबाही देखिने र कारागारमा रहेका भाइ नाइके, नाइकेमाथि अनुसन्धान हुने त्यसपछि आफू शक्तिशाली हुने भन्दै उनले योजना रचेको देखियो ।

को हुन् अभिषेक, कति जनाको हत्या गरे त ?
बाहिरबाट हेर्दा निकै भलाद्मी देखिने यी व्यक्ति खतरनाक किलर हुन् । यिनले अहिलेसम्म देखिने गरी नै ७ जनाको हत्या गरिसकेका छन् । ४० वर्षीय अभिषेकमाथि ३ वटा ज्यान मुद्दा र एउटा ज्यान मार्ने उद्योगको मुद्दामा नख्खु कारागारमा सजाय भोगिरहेका छन् ।

सिंहलाई भक्तपुर जिल्ला अदालतले ३५ वर्ष, जनकपुर र सुर्खेत जिल्ला अदालतले २०/२० वर्षका दरले जेल सजाय तोकेका छन् । पैसावाल विभिन्न व्यक्तिलाई साथी बनाउने व्यापार व्यवसाय गर्ने भन्दै विभिन्न योजना बनाउने, त्यही बीचमा विभिन्न औषधि प्रयोग गरी उक्त व्यक्तिको हत्या गर्ने र उसको सम्पत्ति हात पार्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

डिआईजी खड्काले भने–‘हत्या गरे पनि उनले प्रमाण नष्ट गर्ने र सकभर प्रमाण नै फेला नपर्ने गरी अपराध गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’

यसरी सुरू भएको थियो सिंहको अपराध यात्रा
अभिषेकका बुवा अजयराज सिंह खेलकुद परिषद बाँकेका शाखा अधिकृत थिए । २०६२ भदौ ८ गते तत्कालीन नेकपा माओवादीका दुई कार्यकर्ताले अजयराजलाई राजावादी भएको आरोपमा हत्या गरे । बुवाको हत्याले उनको दिमाग खलबलियो (सो कुरा उनले यस अघिनै प्रहरी बयानमा भनिसकेका छन)

उनलाई आफ्ना बुवाको हत्याको बदला जसरी पनि लिने भन्ने सोच आयो । त्यो बीचमा उनले लागूऔषधको पनि प्रयोग गर्ने थाले । उनले बुवाका हत्यामा संलग्न रहेको भन्दै बाँके खजुरासीका १७ र १८ वर्षका दुई युवकलाई गोली हानी हत्या गरे ।

उनले हत्या गरेको कुरा प्रहरीले थाहा पाएपछि उनी भारततिरै बस्न थाले । लामो समय भारत बसेपछि २०६४ सालमा उनी फेरि नेपाल आए । त्यसपछि उनले योग सिकाउने, झारफुक र तन्त्रमन्त्रको धन्दा सुरू गरे । त्यसताका उनी देव शर्माको नामले चिनिन्थे ।

उनले आफ्नो असली नाम, थर, ठेगाना भएका सम्पूर्ण कागजपत्र र प्रमाणपत्र नष्ट गरेरै भारतबाट नेपाल आएका थिए । देव शर्मा त्यो बेला चर्चित योग गुरू र तान्त्रिक मानिन्थे । त्यही क्रममा उनले धेरैलाई ठगे ।

वि.सं. २०६७ सालमा अभिषेकको भेट मदन विक्रम राणासँग भयो । धनाढ्य परिवारका राणा रोगी थिए । उनी देव शर्मा भनिने अभिषेककहाँ योग सिक्न आउने गर्थे । राणाले आफ्नो जग्गा बेच्न लागेको अभिषेकलाई बताए । त्यसपछि अभिषेकले इचंगुनारायणका निरप भनिने २७ वर्षे नरबहादुर गोतामेसँग सम्पर्क गर्न सल्लाह दिए ।

म्युजिक भिडियोमा अभिनयसमेत गरेका गोतामे जग्गाको कारोबार गर्थे । गोतामेसँग मिलेर आधा सेयर खाने दाउ अभिषेकको थियो । तर, जग्गामा किचलो आएपछि गोतामेले अभिषेकलाई बाइपास गरी सबै कमिसन आफैं लिने योजना बनाएको उनले थाहा पाए ।

म्युजिक भिडियोमा खेलाइदिन्छु भन्दै अभिषेकले दीपेन्द्र भन्ने साथीसँग मिलेर गोतामेलाई पोखरा, नेपालगञ्ज हुँदै सुर्खेत लगेका थिए । त्यहीँ गोतामेको हत्या गरिदिए ।

त्यसैगरी अभिषेकले २०६९ साउन ७ गते बुद्ध भनिने जगतसिंह तामाङको पनि हत्या गरेका थिए । उनले मिलन लिम्बुसँग मिलेर जगतलाई भारतको सिलिगुढी हुँदै लखनउ लगेर हत्या गरेका थिए ।

तीनै जना जगतको बा ८ च ३२३६ नं को वेगन आर ब्रान्डको कारमा सवार थिए । दिनभरि लखनउमा घुमघाम गरी बारावंकी र फैजावादको बीचमा रहेको होटल हाइवेमा आराम गर्ने बहानामा अभिषेकले जगतलाई २५ एमजीको ट्रिप्टिन नामक डिप्रेसनको औषधि दूधमा मिलाई खान दिएका थिए । त्यसपछि बेहोस भएका जगतको केही समयमै मृत्यु भएको थियो ।

त्यसैगरी आफ्नै घरमा काम गर्ने सार्की तामाङलाई पनि अभिषेकले लट्ठ्याउने औषधि दिई इन्जेक्सन लगाएर हत्या गरेका थिए । आफ्ना गोप्य सूचना लिक गर्न सक्ने भन्दै उनले सहयोगीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।

त्यसैगरी काठमाडौं पेप्सीकोलाका निरनजंग पाण्डेलाई नागमणि खोज्न जाने बहानामा हेटौंडाको खोप्लाङमा हत्या गरको अनुसन्धानमा खुलेको छ । यी सबै अपराध गरेर जेलमा सजाय भोगिरहेका अभिषेकले जेलमा समेत आफ्नो अपराधकर्मलाई निरन्तरता दिएका छन ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्