सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

राजदुत हेरफेर हुँदै, को जाला भारत र जापानमा ?

सरकारले बिमस्टेक बैठकलगत्तै संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिसहित भारत, मलेसिया र संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस गर्ने तयारी गरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । यसअघि भारतका लागि राजदूत सिफारिस भएका नीलकण्ठ उप्रेतीको सन्दर्भमा सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो निर्णय निश्क्रिय भएको छ ।

सरकारले भारत, राष्ट्रसंघीय महासभा, मलेसिया र युएईमा नयाँ राजदूत नियुक्तिको तयारी गरिरहेको छ भने कतार, स्पेन, इजरायल, म्यानमार, बंगलादेश, जापान, दक्षिण कोरिया र ओमानका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

त्यसैगरी क्यानडा, फ्रान्स, थाइल्याण्ड, दक्षिण अफ्रिका, जेनेभा र कुवेतका राजदूतहरु भने कार्यकाल समाप्त भएर घर फर्कने दिन नजिकिएको छ । स्रोतका अनुसार भारतको राजदूतमा पठाउने व्यक्तिका बारेमा प्रधानमन्त्री ओलीले अब नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुसँग छलफल गर्नेछन् ।

भारतीय राजदूतका लागि नेकपाभित्र डा.राजन भट्टराईको नाम चर्चामा थियो । तर, भट्टराईले काठमाडौं ४ मा निर्वाचन पराजय भोगेलगत्तै आफू अबको ५ वर्ष राजदूत भएर कतै नजाने र पार्टी तथा सरकारको काममा प्रधानमन्त्री ओलीलाई यहीँ बसेर सघाउने बताएका थिए ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका भट्टराईलाई विदेश मामिला र राष्ट्रिय सुरक्षासमेत हेर्ने गरी प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने तयारी छ । प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा पनि सहभागी बनेका भट्टराईले अहिले अनौपचारिक रुपमा प्रधानमन्त्रीलाई सघाइरहेका छन् ।

स्रोतका अनुसार भारतको राजदूतमा मन्त्री भइसकेका सिनियर नेताबाट सिफारिस गर्ने सम्भावना छ । यद्यपि व्यक्तिका बारेमा केन्द्रित भएर शीर्ष तहमा छलफल भइनसकेको नेकपाका एक सचिवालय सदस्यले बताएका छन । कतिपयले पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई भारतको राजदूत बनाउन सक्ने अनुमान गरेका छन् ।

भारतको राजदूत नियुक्तिमा प्रचण्डले पनि विशेष चासो दिएका कारण पूर्वएमाले नेताहरुको ईच्छाले मात्रै भारतीय राजदूतको चयन हुन मुस्किल छ । नीलकण्ठ उप्रेतीलाई भारतीय राजदूतमा सिफारिस गरिएको सुन्नासाथ प्रचण्डले केपी ओलीलाई भेटेर कडा आपत्ति जनाएका थिए ।

प्रचण्डकै आपत्तिका कारण उप्रेतीको सिफारिस निश्क्रिय राख्न प्रधानमन्त्री बाध्य बनेको नेकपाका नेताहरु बताउँछन् । दोस्रो संविधानसभाको चुनावका बेला निर्वाचन आयोगमा रहेर माओवादीलाई हराउन पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले षड्यन्त्र गरेको प्रचण्डको बुझाइ छ ।

राष्ट्रसंघको स्थायी प्रतिनिधिमा परराष्ट्र सचिव शंकर बैरागीलाई पठाउन खोजिए पनि उनी सचिवको कार्यकालभर अन्यत्र नजाने अडानमा रहेपछि राष्ट्रसंघको स्थायी प्रतिनिधिमा उनीपछिको बरियताका सिनियर सहसचिव भरत पौडेलको नाममा छलफल भएको स्रोत बताउँछ ।

सामान्यतः यसअघि परराष्ट्र सचिवहरु कार्यकाल नसकिँदै स्थायी प्रतिनिधि भएर न्युयोर्क जाने गर्थे । यसमा बैरागी इच्छुक नदेखिएपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव पौडेलको नाम चर्चामा आएको हो । यद्यपि राष्ट्रसंघको स्थायी प्रतिनिधिमा दक्षिण अफ्रिकामा राजदूत रहेका अमृत राईको नाम पनि छलफलमा आएको छ ।

मलेसियाको राजदूतमा भने यसअघि नीलकण्ठसँगै सिफारिस भएका उदयराज पाण्डेकै सम्भावना रहेको स्रोतको दाबी छ । नेकपाका नेता पाण्डे तत्कालीन एमालेको विदेश विभागका सदस्य तथा युवा संघका पूर्वअध्यक्ष हुन् । उनी यसअघि साउदी अरबको पनि राजदूत भइसकेका छन् ।

संयुक्त अरब इमिरेटस (युएई) को राजदूतमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गर्ने तयारी भइरहेको बालुवाटार स्रोतको भनाइ छ । ढकाल परराष्ट्रका सहसचिवमध्ये राजदूत बन्ने अवसर नपाएका व्यक्ति भएकाले यसपटक उनको नाम सिफारिस गर्न लागिएको स्रोतले जनाएको छ ।

जापान लगायत केही देशका राजदूतलाई फिर्ता बोलाउने तयारी
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार पहिलो चरणमा हाल राजदूत खाली रहेका चार नियोगमा नियुक्ति गरेपछि केही विवादास्पद र अघिल्लो सरकारको राजनीतिक कोटामा गएका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी पनि भइरहेको छ ।

श्रीलंकाका लागि नेपाली राजदूत डा.विश्वम्भर प्याकुरेल बाहेक कांग्रेस र राप्रपाको कोटाबाट राजदूत नियुक्त भएकाहरुलाई फिर्ता गर्ने परराष्ट्रको तयारी छ । फिर्ता बोलाउन लागिएका राजदूतहरुमा कतारका रमेश कोइराला, स्पेनका भरत रायमाझी, इजरायल निरञ्जन थापा, म्यानमारका भीम उदास, बंगलादेशका डा.चोपलाल भुसाल, दक्षिण कोरियाका अर्जुनजंगबहादुर सिंह छन् ।

जापानमा राजदूत रहेकी राप्रपा नेतृ प्रतिभा राणालाई पनि फिर्ता बोलाउने सरकारको तयारी छ । उनी देउवा पत्नी आरजू राणाकी आमा हुन् । राणालाई फिर्ता बोलाउँदा सरकारले कांग्रेसबाट विरोधको सामना गर्नुपर्ने सम्भावना छ ।

उता म्यानपावर व्यवसायीसमेत रहेको आरोप खेपेकी ओमानकी राजदूत शर्मिला पराजुलीले बालुवाटारभित्रै पहुँच बनाएर आफूलाई फिर्ता नबोलाउन लविङ गरिसकेको स्रोतले बताएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्