चोरी भएकी ८ महिनाकी शिशुको शव भेटियो
आईतबार महोत्तरीको औरही नगरपालिकाबाट चोरी भएको शिशुको शव मृत अवस्थामा फेला परेको छ । औरही नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् ।
शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदीप भगतले बताएका छन । शिशुको शरीरमा निलडाम देखिएका छन् ।
शिशुका बुवा सन्तोष चौधरी औरही बजारमा किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । शिशुलाई आइतबार अज्ञात व्यक्तिले पसल नजिकैबाट लगेको थियो । उनको अपहरण भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
८ महिले शिशु मृत अवस्थामा फेला परेपछि चौधरी परिवारमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्