सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

निर्मला हत्याकाण्ड; ४८ घण्टामा केसीको राजीनामा फिर्ता

बलत्कारपछी हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटना छानबिन गर्न गठित उच्चस्तरीय समितिबाट असुरक्षाको महशुष गरेको भन्दै सोमबार राजीनामा दिएका उप–सचिव वीरेन्द्रबहादुर केसी फेरि समितिमा फर्किएका छन् ।

ज्यानकै सुरक्षा नहुने भो भन्दै छानविन समितिबाट राजीनामा दिएको ४८ घण्टापछि बुधबार गृह मन्त्रालयमै पत्रकार सम्मेलन गरेर केसीले आफू समितिमा फर्किएको जानकारी गराएका हुन ।

यो ४८ घण्टाको वीचमा उप–सचिव केसीले गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र छानविन समितिका संयोजक हरिप्रसाद मैनालीलाई भेटेका थिए ।

केसीका अनुसार सोमबार राजीनामा दिनुअघि पनि गृहमन्त्रीलाई भेट्ने प्रयास गरेका थिए । तर, सम्भव नभएपछि पत्रकार सम्मेलन नै गरेर राजीनामा घोषणा गरेका थिए ।

राजीनामा दिने क्रममा उनले निर्मलाले न्याय नपाउने देखेपछि राजीनामा दिनुपरेको बताएका थिए । तर, बुधबार भएको छलफलमा आफ्नो र गृहमन्त्रीको धारणा एउटै पाइएकाले समितिमा बसेर काम गर्न सहमत भएको उप–सचिव केसीले बताएका छन ।

निर्मला पन्तको हत्या र त्यसपछि भएको आन्दोलनमा प्रहरीले चलाएको गोलीकाण्डबारे छानविन गर्न सरकारले गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानविन समिति बनाएको थियो । प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिवसमेत रहेका केसी सो छानविन समितिका एक सदस्य हुन् ।

मैनाली नेतृत्वको समितिले तत्कालीन प्रहरी नेतृत्वको घटनाको अनुसन्धानमा लापरवाही गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । तर, समितिको प्रतिवेदन लेख्ने क्रम नसकिँदै केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेपछि एक प्रकारको तरंग आएको थियो ।

राजीनामा दिने क्रममा केसीले छानविन समितिको म्याद थपिएकोमा असन्तुष्टि जनाउनुका साथै निर्मलाका हत्यारा पत्ता लगाई दोषीमाथि कारबाही हुनेमा समेत आशंका व्यक्त गरेका थिए ।

गृह मन्त्रालय स्रोतका अनुसार केसीले राजीनामा दिएपछि उनीमाथि नै छानविन गर्ने गृहकार्य थालिएको थियो । त्यसैले सरकारले दबाव वा प्रभावमा पारेर केसी हतार–हतार छानविन समितिमा फर्कन बाध्य भएका हुन सक्छन् । किनकि केसीको राजीनामाले निर्मला हत्याको छानविनमाथि नै गम्भीर प्रश्न उठाएको छ ।

अब अर्को आशंका केसी माथि नै सोझिएको छ । कानुन समूहका केसी काठमाडौंबाट प्रदेशमा जान तयार थिएनन् । तर, सरकारले खटाएपछि बाध्यताबस गएका उनले यो प्रकरणमा व्यक्तिगत लाभ लिन खोजेको र काठमाडौं फिर्ता आउने बहाना पनि हुन सक्ने मन्त्रालय स्रोतको अनुमान छ ।

काठमाडौं आउने चाहना पूरा गरेको हो कि भन्ने आशंकालाई बल पुग्ने गरी केसीले पत्रकार सम्मेलनमा भने, ‘गृहमन्त्रीज्यूले तपाईलाई सरुवा, शान्ति सुरक्षाको कुनै अप्ठ्यारो भएको छ भने हामी छौं भन्नुभएको छ ।’

गत साउन १० मा साथीकहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको भूमिकामाथि स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् ।

‘भीआईपी’ अपराधीलाई उन्मुक्ति दिन खोजेको भन्दै कञ्चनपुबासीले आन्दोलन गरिरहेका बेला मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गर्यो । जसले आन्दोलनको आगोमा घ्यू थप्ने काम र्गयो ।

आन्दोलनकै क्रममा प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि मैनालीको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो, जसमा केसीलाई पनि राखिएको थियो ।

छानविन समितिका सदस्य केसीले राजीनामा दिएको भोलिपल्टै मंगलबार दिलिप सिंह विष्टको डीएनए रिपोर्ट नेगेटिभ आएको खबर आयो । त्यही साँझ विष्टसँगै आँचल भनिने रोशनी बम र उनकी दिदी बविता बम पनि हिरासत मुक्त भइसकेका छन् ।

सबै घटनाक्रमले निर्मला हत्या प्रकरणको अनुसन्धान जटिल र सन्देहपुर्ण बनेको छ । र, यहीबेला वास्तविक अपराधी पक्राउ गर्नेमा संशय पैदा भएको भन्दै निर्मलाका आमाबुबा सरकारलाई दबाव दिन काठमाडौं आएका छन् । मृतक निर्मलाका बाबुआमा न्याय पाएर फर्किन्छन या निराश भएर त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस्