म्याग्दीमा बाढीको वितन्डा, आधा दर्जन घर बगायो
म्याग्दीमा रघुगंगा नदीमा आएको बाढीले विद्यालय भवन तथा सडक बगाउनुको साथै बेनी बजारलाई समेत जोखिममा पारदिएको छ । रघुगंगा गाउँपालिका अन्र्तगत पर्ने छहरी भन्ने ठाउँमा आएको पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले बिद्यालय भवन बगाएको हो ।
वडा नं. ८ का अध्यक्ष गमान छन्त्यालले दिएको जानकारी अनुसार बाढीपहिरोले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनुका साथै अर्को एउटा भवन आधा बगाएको छ ।
बाढीले घ्याँसीखकस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले बताएका छन ।
करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिरोका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्याएको छ ।
सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताएका छन । करिब पचास मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।
कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–२ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताएका छन ।
कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् ।
मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ । यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षती पुगेको छ ।
मुस्ताङ र म्याग्दीको माथिल्लो क्षेत्रमा पहिरोपछि कालीगण्डकी नदीमा बुधबार अपराह्न्न पाँच बजेदेखि नौ बजेसम्म बाढीको सतह बढेको थियो । राति सुरक्षित ठाउँमा गएर बास बसेका तटीय क्षेत्रका बासिन्दाहरु नदीमा बाढीको सतह घटेपछि बिहानदेखि घर फर्किएका छन् ।
फेसबुकबाट कमेन्ट गर्नुहोस्