सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

जँड्याहाहरु साबधान ! रक्सी खान अब लाईसेन्स अनिवार्य

स्थायी सरकार आएसंगै स्थानीय निकायले स्थानीय नियम कानुन ल्याउन सुरु गरेसंगै बिभिन्न आलोचना र चर्चा पाउँदै आएका छन । साइकलमा, कृषकले पाल्ने पसुको मृत्युमा समेत दर्ता कर लगाएको चर्चा सेलाउन नपाउँदै बाजुराको एउटा गाउँपालिकाले भने मदिरा सेवन गर्ने लाइसेन्स बाँड्न थालेर चर्चा पाएको छ ।

बाजुराको गौमुल गाउँपालिकाले ऐन नै बनाएर ‘मदिरा सेवन कार्ड–२०७५’ बाँड्न थालेको हो । गौमुले गाउँपालिकाले असारमा ‘मदिरा व्यवस्थापन गर्न बनेको ऐन २०७५’ पास गरेको थियो । सोही ऐन अनुसार साउनदेखि मदिरा पिउन कार्ड बाँड्न थालेको छ । अहिलेसम्म १५० भन्दा बढीले यो कार्ड लिएका छन् ।

गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाका अनुसार मदिरा सेवन कार्ड लिन बार्षिक ५०० रुपैयाँ बुझाउनुपर्छ । यो कार्ड भए पछि साँझ ६ देखि ९ बजेसम्म मदिरा पिउन पाइन्छ । एक जनाले एक दिनमा १८० मिलिलिटर मात्र मदिरा पिउन पाउनेछन् । यस्तो कार्ड गाउँमा आउने पाहुनाहरुले पनि लिनुपर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रोकायाले भनेका छन–‘मदिरा पसल चलाउन पनि लाइसेन्स अनिवार्य गरिएको छ । ‘हरेक पसलेको मदिरा सेवन कार्ड भएका ग्राहक हुन्छन् र उनीहरुले पिएको मदिराको रेकर्ड पसल सञ्चालकले राख्नुपर्छ ।’

पसलको स्टक र लाइन्सेन्सधारी ग्राहकको संख्याका आधारमा तोकिए अनुसार १८० मिलिलिटर वा त्यसभन्दा बढी मदिरा खाएको अनुगमन गर्ने गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताएका छन । कार्ड नभएका मानिसले मदिरा पिएको भेटिएमा पहिलो पटक दुई हजार र दोस्रो पटक ७ हजार जरिवाना तोकिएको छ ।

मदिरा सेवनमा पूर्ण रोक लगाउने अवस्था नभएकाले कार्ड दिएर व्यवस्थित गर्न खोजेको गाउँपालिका अध्यक्ष रोकायाले दाबी गरेका छन । अध्यक्ष रोकायाले भनेका छन–‘रक्सी खाएर झगडा गर्दा थुप्रैको ज्यान गएको छ, अहिले पनि मुद्दा मामिला झेल्दै आएका छन, गाउँपालिकाले कार्ड सिस्टम लागू गरेपछि गाउँगाउँका महिलाहरु खुसी भएका छन् । कार्यान्वयनमा सहयोग गर्छौ भनेका छन् ।’

फेसबुकबाट कमेन्ट गर्नुहोस्

Nepal Life insurance
SMS ADS